काठमाडौं
काठमाडौं उपत्यकामा उड्ने धुलो–धुवाँले मानव स्वास्थ्यमा हरेक दिन गम्भीर असर पार्दै गएको छ । अधिकार सम्पन्न महानगर भने धुलो–धुवाँ नियन्त्रण गर्न असफल देखिएका छन् । उपत्यकाको धुलो नियन्त्रण गर्न काठमाडौं महानगरपालिकासँग तीन वटा ब्रुमर, पाँच वटा जेट र ललितपुर महानगरपालिकासँग एउटा ब्रुमर छ । काठमाडौं नगरपालिकासँग भएका ३ मध्ये २ ब्रुमर बिग्रिएर थन्क्याइएका छन् भने एउटा चालू अवस्थामै भए पनि धेरैजसो कार्यालयमै थन्किएको छ ।
सडक पखाल्न ल्याएका पाँच वटा जेट २ महिना देखि परीक्षणमै राखिएको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिबहादुर कुँवरले बताए । ‘हामीले २ महिना अघि रोड पखाल्न पाँचवटा जेट ल्याएका थियौँ, जसले रोड पखाल्ने र जमेको पानी पनि तान्ने काम गर्छ,’ कुँवरले भने, ‘तर ती उपकरण अझै परीक्षणमै छन् ।’
कस्तो रोड पखाल्न मिल्छ, जमेको पानी कसरी निकाल्न सकिन्छ भन्ने परीक्षण चलिरहेको कुँवरले बताए । सडक विभागबाट ललितपुर महानगरले एउटा ब्रुमर ल्याए पनि कार्यालयमै थन्किएको छ । महानगरवासी धुलोको मारमा पर्दा वा पानी परेर हिलाम्य हुँदा पनि त्यो उपकरण महानगरले कार्यालयमै थन्क्याएर राख्ने गरेको छ ।
पूर्वाधार निर्माणका नाममा उपत्यकामा लगातार सडक खन्ने काम भएकाले धुलो र हिलो बढी भएको महानगरको भनाइ छ । ‘कहिले मेलम्चीको पाइप बिछ्याउँदा सडक खनिन्छ । कहिले केबलतार, कहिले बिजुलीका तार त कहिले फुटपाथ बनाउँदा सडक खन्ने गरिन्छ,’ कुँवरले भने, ‘एकपछि अर्को निकायले सडक भत्काउँदा हरेक वर्ष धुलो र हिलो बढेको बढ्यै छ ।’ एक निकायले अर्को निकायसँग समन्वय नगरी निरन्तर सडक खन्दा तथा चोभार, साँगा र थानकोटबाट धुलो र धुवाँ भित्रँदा पनि उपत्यकामा प्रदूषण बढेको वातावरणविद्हरूको भनार्इ छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया