सुर्खेत
एक साता अघि ज्वरोका कारण थला परे मुगुको छायाँनाथ रारा नगरपालिका ६ का कर्णसिंह ऐडी । नजिकै अस्पताल नहुँदा छिमेकीले बोकेर तीन घन्टा पर सदरमुकाम गमगढी लाँदै थिए । ६० वर्षीय ऐडीको बाटोमै मृत्यु भयो ।
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका—७ का पदमराज सिम्खडाले विष सेवन गरे । आफन्तले सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालतर्फ लगे । यातायातको सुविधा नहुँदा स्थानीयले दुई घण्टा सम्म पैदलै बोकेर जितेबजार सम्म पुर्याए । तर अस्पताल पुग्न नपाउँदै २८ वर्षीय सिम्खडाको बाटोमै ज्यान गयो ।
केही दिन अघि मात्र जाजरकोटको छेडागाड नगरपालिका १० की पञ्चकलानाथ योगीको पनि अस्पताल पुग्न नपाउँदै बाटोमै मृत्यु भयो । ज्वरोका कारण बिरामी भएकी उनलाई आफन्तले स्टेचरमा बोकेर अस्पताल लैजाँदै थिए । दुई घण्टासम्म पैदल बोकेर थलह बजारमा पुगेपछि उनको ज्यान गयो ।
कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा दक्ष चिकित्सकको अभाव र भौगोलिक विकटताका कारण समयमै अस्पतालमा पुर्याउन नसक्दा वर्षेनी धेरै बिरामीको बाटोमै ज्यान जाने गरेको छ ।गाउँमा स्वास्थ्य संस्था नहुनु, दुर्गमका स्वास्थ्य संस्थामा पनि डाक्टर नै नबस्ने र बिरामीलाई सदरमुकामसम्म बोकेरै पुर्याउनु पर्ने बाध्यताका कारण कर्णाली प्रदेशमा यस्ता समस्या दाहोरिने गरेका छन् । अधिकांश बिरामीको अस्पतालसम्म पुग्न नपाउँदै बाटोमै मृत्यु हुने गरेको छ ।
ग्रामीण क्षेत्रबाट जिल्ला अस्पतालसम्म पुग्न दुई देखि चार दिन सम्म लाग्ने गरेको छ । लामो बाटोका कारण धेरै बिरामीले अस्पतालको मुखै देख्न नपाएर बाटोमै ज्यान गुमाउने गरेका हुन् ।
गर्भवती महिलाको पनि अस्पतालको मुख देख्नै नपाएर बाटोमै ज्यान जाने गरेको छ । जुम्लाको मालिका बोताका दलबहादुर रावतले पत्नीलाई सुत्केरी व्यथाले च्यापेपछि अस्पतालतर्फ लगे । अस्पताल पुग्न नपाउँदै उनकी पत्नी लालकलीले बाटोमै प्राण त्यागिन् । सन्तान जन्मन लागेको खुशी बोकेर हतारमा अस्पताल लैजाँदै गरेका दलबहादुरले पत्नी र गर्भमा रहको सन्तान पनि गुमाए ।
अत्याधिक रक्तस्रावका कारण लालकलीको निधन भयो । ‘गाउँमा अस्पताल छैन, बाटो पनि राम्रो छैन’, उनले थपे, ‘बिरामीलाई समयमा अस्पताल लैजान सकिँदैन, धेरैको प्राण त बाटोमै जान्छ ।’
कर्णालीका दुर्गम गाउँमा बिरामी बोक्ने एम्बुलेन्स नै छैनन् । अस्पतालसम्म पुग्नलाई सडक पनि छैन । सडक सञ्जालमा नजोडिएको डोल्पाको व्यथा पनि कम छैन । तल्लो डोल्पामा अस्पतालको सुविधा भए पनि माथिल्लो डोल्पाका नागरिक भने भगवान भरोसामा बाँचेका छन् । भौगोलिक विकटताका कारण सदरमुकाम दुनै सम्म पुग्न हप्तौं लाग्छ । बिरामी भएमा स्थानीयले हेलिकोप्टर नै चार्टर गर्नुपर्ने बाध्यता छ । कमजोर आर्थिक अवस्था भएकाहरू उपचार नै गराउन सक्दैनन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया