काठमाडौँ
आज बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म देशका २३ स्थानमा जनता भेला आव्हान गरिएको छ । निर्मलाका निम्ति न्यायका लागि देशका प्रमुख शहरमा गरिएको भेलाको कुनै आयोजक छैनन् । नागरिक समाजका सदस्यहरु भेला भएर निर्मला पन्त हत्यामा संलग्नहरुको खोजी र कारबाही माग भेलाको मुख्य उद्देश्य हो ।
गत १० साउनमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यामा प्रहरीले प्रमाण नष्ट गरेको भन्दै नागरिकमा आक्रोस छाएको छ । निर्मला हत्या प्रकरणमा अशान्त बनेको कञ्चनपुर शान्त बन्ने प्रयासमा रहे पनि यसको प्रभाव देशभर परिरहेको छ । देशका अन्य भागका नागरिकमा पनि हत्यारा उम्काउने खेल पो हो कि भनेर आशंका गरिएको छ । कञ्चनपुरमा त प्रधानमन्त्रीको अभिव्यक्तिमै आपत्ति जनाइएको छ ।
निर्मलाका आमाबाबु अहिले काठमाडौं आएका छन् । हत्यारा उम्कन नपाओस् भनेर संसदमा प्रतिपक्षी नेपाली कांग्रेसले समेत यही मुद्दा उठाएर संसद अवरुद्ध गरेको छ । सडकमा सत्तासीन पार्टीकै भ्रातृसंगठन अनेरास्ववियुका नेता कार्यकर्ता निर्मला हत्या प्रकरणमा अपराधी उम्कन नपाओस् भनेर उत्रिएका बेला नागरिक समाजको स्वस्फूर्त जनता भेला पनि गरिएका छन् । यसैक्रममा आज देशका २३ स्थानमा हुने भेलाले पनि निर्मला हत्या प्रकरणमा दोषी खोज्न सरकारलाई दबाब दिने उद्देश्य राखिएको छ ।





























प्रतिक्रिया