काठमाडौं
ऐतिहासिक तथा पूरातात्विक महत्वको हनुमानढोकास्थित वंशगोपाल मन्दिर पुनर्निर्माण गरी पूजारीलाई हस्तान्तरण गरिएको छ ।
बिहिबार मन्दिरमा क्षमापूजा गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पुनर्निर्माण गरिएको सो मन्दिरको साँचो पूजारी प्रकाश झालाई हस्तान्तरण गर्नु भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्वविभागको आर्थिक तथा प्राविधिक सहयोगमा सो मन्दिर तोकिएको समय भित्रै सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले हनुमानढोकास्थित सम्पदाहरुको पुनर्निर्माणको बाँकि काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले राष्ट्रको शीर ठाडो हुने गरी सम्पदा पुनर्निर्माणको काममा जुट्न सबैलाई आह्वान पनि गर्नु भयो । मन्त्री अधिकारीले राष्ट्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुने गरी सम्पदा पुनर्निर्माणको काममा तीव्रता दिनमा तहतप्काका निकायलाई पनि सचेत गराउनु भयो ।
हनुमानढोकास्थित गद्दी बैठकको केही समय अघि पुनर्निर्माण सम्पन्न गरिएको थियो । त्यसैगरी काष्ठमण्डप पुनर्निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । भूकम्पले क्षतिग्रस्त बनाएको काठमाडौं उपत्यकाका सम्पदाहरुको पुनर्निर्माणको काम २ वर्ष भित्र सम्पन्न गरिसक्ने सरकारले लक्ष्य लिएको छ । हेरौं भिडियोमा :





























प्रतिक्रिया