काठमाडौं
काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब बजेट लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।
३ वर्ष भित्र मोनोरेल निर्माण गर्ने समझदारी गरेको चिनियाँ कम्पनी सिआरसीसीले तयार पारेको सम्भाव्यता अध्ययन सम्बन्धि प्रारम्भिक प्रतिवेदनमा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब बजेट लाग्ने अनुमान गरिएको हो । कम्पनीले बिहिबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई बुझाएको प्रतिवेदनमा ३ वर्ष भित्र मोनोरेल निर्माण गरिसक्ने योजना पनि अघि सारिएको छ ।
गत बैशाख २० गते कम्पनीले काठमाडौं महानगरपालिकासँग मोनोरेल निर्माण सम्पन्न गर्ने समझदारी गरेको थियो । सोही समझदारी अनुसार बिहिबार चिनियाँ कम्पनी सिआरसीसीले प्रारम्भिक अध्ययन प्रतिवेदन तयारी पारी काठमाडौं महानगरपालिकालाई बुझाएको हो । सिआरसीसीले निर्धारित समय भन्दा अघि नै सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएर ५ वर्ष भित्र मोनोरेल संचालन गर्ने काठमाडौं र ललितपुर महानगरपालिकाको योजनालाई साकार पार्ने विश्वास जगाएको काठमाडौं महानगरपालिकाका मेयर शाक्यले बताउनु भयो । उहाँले कम्पनीलाई सो रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने काममा लाग्न पनि आग्रह गर्नु भयो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कम्पनीले बुझाएको प्रतिवेदन अध्ययन गरेर मोनोरेल निर्माणको कामलाई तीब्रता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । मोनोरेलको सम्भाव्यता अध्ययन तोकिएको समय भन्दा अघि नै तयार पारेकोमा चिनियाँ कम्पनी सिआरसीसीलाई धन्यवाद पनि दिनु भयो ।
प्रतिवेदनमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ६ महिना भित्र तयार पार्ने र ३ वर्ष भित्र सो रेल निर्माण गरिसक्ने उल्लेख गरिएको छ । कार्यक्रममा सिआरसीसीका महाप्रबन्धक लि होङ्गकीले मोनोरेल निर्माणमा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
सम्झौंता अनुसार चक्रपथको सडक माथिको कूल २७ दशमलव ५ किलोमिटरमा सो मोनोरेल संचालन गरिनेछ । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले मोनोरेल निर्माणका लागि संघीय सरकारले पनि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौं र ललितपुर महानगरपालिकाले मोनोरेल संचालनका लागि मातहतका नगरपालिकासँग पनि आर्थिक सहायताका लागि आग्रह गर्ने योजना बनाएको छ । हेरौं भिडियोमा :





























प्रतिक्रिया