बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय किशोरी निर्मला पन्तका अभिभावकले न्याय दिन नसके आफुहरुलाई पनि मारीदिन आग्रह गरेका छन् । न्याय खोज्दै राजधानी काठमाडौँ आएका उनीहरुले रुँदै आफुहरुले सरकारबाट कुनै न्याय महशुस नभएको बताएका हुन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजना गरिएको साक्षात्कारमा पन्तका आमाबाबुले निर्दोष छोरी निर्मलाको हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारवाही गर्न माग गरेका हुन् । निर्मलाका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता लगाउन प्रहरीले आवश्यक सहयोग नगरेको गुनासो गरे । “प्रहरी मेरो साथी भनेर नारा लगाइन्छ तर दुःख पर्दा प्रहरीबाट असहयोग हुन्छ,” उनले भने ।
छोरी हराएपछि तत्काल प्रहरीलाई खबर गर्दा प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न आलटाल गरेको उनले आरोप लगाए । निर्मलाकी आमा दुर्गादेवी पन्तले हत्या भएको ५०औँ दिन पुग्दा पनि दोषी पत्ता नलागेपछि न्यायको खोजीमा काठमाडौँ आएको बताइन “जसरी पनि हामीलाई न्याय चाहिएको छ, कञ्चनपुरमा न्याय नपाएर हामी यहाँ आएका हौँ,” उनले भनिन ।
‘सके न्याय देउ, न्याय दिन सक्दैन भने हामीलाई पनि मारी देउ’ । साक्षात्कार कार्यक्रममा निर्मलाकी आमाले भनिन् । घटनाक्रम सुनाउदै भक्कानिएका निर्मलाका बुबाले पनि आफुहरुले संचारमाध्यमको साथ् चाहेको भन्दै न्याय दिलाई दिन आग्रह गरे । आफुहरु सरकारबाटै असुरक्षित भएको भन्दै उनले पनि न्याय दिलाउन नसके आफुहरु पनि मर्न तयार भएको बताए । ‘न्याय नपाउने हो भने हामीलाई पनि गोली हानेर मारी दिनुहोस् ।’ उनले भने ।
मानवअधिकारकर्मी शारदा चन्दले घटनाको छानबिनका लागि बनाइएको समितिमा सरकारी मान्छे मात्र राखेर घटनाको प्रमाण नष्ट गर्न खोजिएको आरोप लगाए । उनले पीडित परिवारलाई समेत ज्यानको खतरा रहेको भन्दै सुरक्षाको माग गरे । अर्का अधिकारकर्मी मीना भण्डारीले सरकारले अपराधीलाई जोगाउन खोजेको आरोप लगाए ।
मानवअधिकारकर्मी माया नेगी, अधिवक्ता पुष्पराज पौडेलले सरकारले घटनाको अनुसन्धान गर्न तीन÷तीन वटा समिति बनाउँदा पनि अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु दुःखद भएको बताए ।
साथीको घरमा पढ्न गएका निर्मलाको शब् उखुबारीमा फेला परेको थियो । घटनाको मुख्य आरोपित भनेर प्रहरीले स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेका थिए तर स्थानीयले बिष्ट आरोपित हुने नसक्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा एक जना बालकले ज्यान गुमाए भने केही अझै घाइते अबस्थामा छन् ।
घटनाको छानविन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति पनि गठन गरेको छ । समितिको पुन: १५ दिन म्याद थप गरिएको छ ।
यसै क्रममा मुख्य आरोपित भनेर सार्वजनिक गरिएका दिलिपसिंह विष्टको डीएनए टेस्ट फेल भएपछि उनलाई मंगलबार रिहा गरिएको छ । मंगलबार नै निर्मला पढ्न गएको घरका बम दिदीबहिनी रोशनी र बबितालाई पनि प्रहरीले छाडेको छ ।
अनुसन्धानमा गम्भीर त्रुटि गरेको भन्दै सरकारले एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ । स्थानीयले भने एसपी बिस्टकै डीएनए चेक गर्नुपर्ने बताउदै आएका छन् ।





























प्रतिक्रिया