काठमाडौं
नेपाललाई सीधा उडान अनुमति उपलब्ध गराउन चीनको सिचुआन प्रान्तको राजधानी छेन्दु सकारात्मक देखिएको छ । सिचुआनमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन महोत्सवका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी र छेन्दुका गभर्नरबीच भएको भेटमा दोहोरो उडानलाई सम्भव बनाउने विषयमा छलफल भएको थियो ।
नेपाललाई स्लट उपलब्ध गराउन छेन्दुका गनर्भरसँग कुराकानी भएको छ, मङ्गलबार भ्रमणपछिको जानकारी गराउँदै मन्त्री अधिकारीले भने, यस विषयमा सकारात्मक प्रगति भएको छ । चीनका विमान कम्पनीले नेपालमा नियमित उडान गर्दै आए पनि स्लट अभावमा नेपाली उडान कम्पनीले आफ्नो सेवा चीनमा विस्तार गर्न सकेका छैनन् ।
नेपाली ध्वजाबाहक सहित अन्य विमान कम्पनीले पनि उडान गर्न पाउने विषयमा बारम्बार दुई देशबीच छलफल हुँदै आएको छ । प्रधानमन्त्री र परराष्ट्र मन्त्री चीन भ्रमणका क्रममा पनि यो विषयले प्रवेश पाए पनि अहिलेसम्म ठोस प्रगति भने हुन सकेको छैन । सरकारले यसलाई कूटनीतिक रूपमै अघि सार्ने मन्त्री अधिकारीले बताए । व्यापारलाई समान मान्ने हो भने उडानमा पनि समान हुनुपर्ने उनले बताए ।
सरकारले छेन्दुबाहेक चीनका अन्य सहर र प्रान्तमा पनि उडानका लागि प्रयत्न गर्ने मन्त्री अधिकारीले जानकारी दिए । चीनको राजधानी बेइजिङमा निर्माण हुँदै गरेको अर्को विमानस्थल ११ महिनापछि पूरा हुने र नेपालले त्यसमा स्लट पाउने सम्भावना रहेको पनि उनले जानकारी दिए । सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा चीनबाट पर्यटक भित्र्याउन नेपाली उडान कम्पनीलाई अनुमति आवश्यक रहने उनले बताए ।
गोरखापत्रबाट





























प्रतिक्रिया