काठमाडौं
सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको पाइएको छ । निसान छापमै प्रयोग गरिएका नक्सामा समेत नेपाली भूभाग कालापानीमा लामो समय देखि भारतले सेना राख्दै आएको छ । यसमा भारतलाई साथ पुग्ने गरी सरकारी नक्सा बनाइएको छ । यसको नापी विभागले पुष्टि गरेको छ ।
‘देशको निसानी मानिने निसान छापमा राखिएको नक्सै त्रुटिपूर्ण छ’, विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले भने, ‘पहिलाको नक्साबाट कालापानीको ठूलो भू–भाग हटाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब साइटमै अपूरो नक्सा सहितको निसान छाप राखिएको छ । हेलो सरकार, गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका ट्वीटरमा पनि त्यही छ ।’
ती नक्साबाट वैज्ञानिक मापन गर्दा कालापानीको ६ हजार हेक्टर भन्दा बढी भूमि गायब छ । कुनै साइटमा सात हजार ९ सय हेक्टरसम्म गायब भएको नक्सा प्रयोग गरिएको छ । श्रेष्ठका अनुसार कतिपय नक्सामा सुस्तामा पनि समस्या छ । सुस्तामा पनि नेपाली भूभाग भारतले कब्जा गरिरहेको छ ।
विभागका स्थलरूप नापी तथा भूमि व्यवस्थापन महाशाखा प्रमुख समेत रहेका श्रेष्ठले सरकारी निकायमा प्रयोग भएका नक्साका त्रुटिबारे आफूले पटक–पटक जानकारी गराएको बताए । ‘नक्सामा नेपाली भूभाग छुटाइएकोबारे मैले आफैं हेलो सरकारमा जानकारी गराएँ । तर अहिलेसम्म त्यसको सुनुवाई भएको छैन,’ उनले भने, ‘सरकारकै आधिकारिक वेब साइटहरूमा राखिएका निसान छापका त्रुटिपूर्ण नक्सा पनि फेरिएको छैन ।’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बुधबार भएको बैठकमा पनि गलत नक्सा र निसान प्रयोग भइरहेकोबारे उपमहानिर्देशक श्रेष्ठले ध्यानकर्षण गराए । मन्त्रालय अन्र्तगतकै भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको वेब साइटमा समेत कालापानी छुटाइएको नक्सा प्रयोग भएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया