काठमाडौं
राजधानीको चोभारमा सुख्खा बन्दरगाह बनाउँदा त्यहाँबाट आउने स्वच्छ हावा प्रदूषित भएर काठमाडौं उपत्यका नै प्रदूषित हुने विज्ञहरूले बताएका छन् । वातावरणीय दृष्टिकोणले चोभारमा बन्दरगाह बनाउन उपयुक्त नहुने उनीहरूको भनाइ छ । उनीहरूले पहिलो कुरा हावा थुनिन सक्ने र दोस्रो कुरा त्यस्तो हावा आइहाले पनि स्वच्छ नहुने तर्क समेत गरेका छन् ।
वातावरणविज्ञ भूषण तुलाधरले चोभार उपत्यकाको पानीको निकास भए पनि हावा आउने प्रवेश मार्ग भएकाले यसमा ध्यान दिनुपर्ने बताए । उता स्थानीय बासिन्दाले भने काठमाडौं एक उत्कृष्ट ऐतिहासिक पर्यटकीय गन्तव्यस्थल भएकाले बन्दरगाह बनाउन उचित नहुने दावी गरेका छन् ।
यस योजनालाई नौबिसे–थानकोट सुरुङ्ग मार्गसँग जोडेर बनाउन उपर्युक्त हुने उनीहरूको धारणा छ । एक स्थानीयले भने– ‘यस योजना नारायणगढ–नागढुंगाको प्रवेश विन्दु देखि निकै टाढा रहेकोले यातायातको हिसावले पनि यहाँ बनाउनु वैज्ञानिक छैन ।’
चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनले उक्त योजना कुनै हालतमा लागू गर्न नमिल्ने जिकीर गरे । उनले भने– ‘ड्राईपोर्टको विशेषता चोभारको धार्मिक, साँस्कृतिक, ऐतिहासिक विशेषतासँग मेल खाने योजना नभएकोले यो ठाउँमा बनाउन उपयुक्त छैन ।’ यसबारे स्थानीयबासी, स्थानीय जनप्रतिनिधि र केन्द्रीय मन्त्रीबीच पटक पटक छलफल भइरहेको बताइएको छ । मन्त्री समेतले यसको विकल्प खोज्नु पर्नेमा सकारात्मक देखिएको संयोजक महर्जनले दावी गरे ।
सन् १९७४ मा जर्मन सरकारको सहयोगमा निर्माण भएको हिमाल सिमेन्ट कारखाना सन् २००२ देखि बन्द थियो । तर चलचित्रको छायाँङकन बाहेक केही प्रयोजनमा नआएको उक्त कारखानामा अहिले सरकारले सुख्खा बन्दरगाह बनाउने योजना ल्याई काम अगाडि बढाएपछि विवाद चलेको हो । चरणबद्ध विरोधपछि प्रधानमन्त्री केपी ओलीले गत साउन ३० गते शिलान्यास गर्ने भनिएको कार्यक्रम स्थगित भएको थियो । सरकारले यसअघि पनि फोहोर फाल्ने डम्पिङ साइट या सुकुम्बासी आवास बनाउने योजना ल्याएको थियो । स्थानीय बासिन्दाले त्यसबेला पनि विरोध जनाएपछि सरकारले अन्तै विकल्प खोजेको थियो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया