कञ्चनपुर

कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन् । "/>

निर्मलाको बलात्कार र हत्या योजनाबद्ध : प्रहरी

निर्मलाको बलात्कार र हत्या योजनाबद्ध : प्रहरी

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर

कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन् । ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ ।’

निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे अनुसन्धान गर्न केही जटिल भए पनि अपराधी पत्ता लाग्नेमा उनी विश्वस्त छन् । सुरुमै घटनास्थलमा गएको भए एउटा माइन्ड सेट बनेर अनुसन्धान गर्न सहज हुने थियो तर अपराधी पत्ता लगाउने कुनै न कुनै आधार फेला पर्ने उनी बताउँछन् । पोस्टमार्टम रिपोर्ट, नियन्त्रणमा लिएका रोशनी र बबिता बम दिदीबहिनीको घर, त्यो घरदेखि घटना गराइएको ठाउँसम्मको दुरीमा कुनै न कुनै प्रमाण फेला पर्ने उनको भनाइ छ । ‘घटनापछि अपराधीले केही न केही प्रमाण छोड्छ’, एसपी कडायतले भने, ‘पानी बगाएको ठाउँमा भए पनि केही न केही आधार पाइएला ।’ डिएनए परीक्षण र मोबाइलको कल डिटेल हेरेर पनि थप तथ्य खुल्नेमा उनी विश्वस्त छन् ।

प्रहरीले शुक्रबार निर्मला पढ्न गएको घरका रोशनी बम र उनकी दिदी बबिता बमलाई पक्राउ गरेको छ । ‘अदालतबाट म्याद थप गरेर सोमबार देखि उनीहरूसँग बयान लिन सुरु गर्नेछौं ।’ शनिबार र आइतबार बिदा भएकाले उनीहरूसँग बयान नलिएको उनले बताए ।

घटनास्थलको सुरुको अवस्था थाहा पाउन अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानलाई अध्ययन गरिरहेको उनले बताए । यसअघिका प्रहरी उपरीक्षक (एसपी) डिल्ली बिष्ट र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले घटनाबारे अनुसन्धान गर्न आनाकानी गरेकाले स्थानीय बासिन्दाले महेन्द्रनगरमा प्रदर्शन गर्दै आएका छन् ।

कफ्र्यु खुकुलो हुँदै
शुक्रबार ८ बजेदेखि महेन्द्रनगर बजारमा लागेको कफ्र्यु पछिल्लो समय खुकुलो पार्न थालिएको छ । आइतबार बेलुकी ६ बजेदेखि राति १० बजेसम्म चार घन्टाका लागि महेन्द्रनगर बजारमा कफ्र्यु हटाइएको थियो । यस्तै सोमबार बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाइएको छ । अन्य समयमा भने कफ्र्यु यथावत रहने प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
नागरिकबाट

Logo