काठमाडौँ

त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ । "/>

राति पानी दिउँसो जाम, सडक टाल्ने सकियो काम !

राति पानी दिउँसो जाम, सडक टाल्ने सकियो काम !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ । उपत्यकामा दैनिक ७ लाख भन्दा बढी सवारी साधन कुद्ने गरेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन, समारोह हुँदा काठमाडौंको सडक निर्माण गर्ने र सरफाइ गर्न सरकारलाई भ्याइनभ्याई हुन्छ । अघिपछि खाल्डाखुल्डी हुँदा पनि बेवास्ता गर्ने सरकारले विदेशी राष्ट्रप्रमुख आउँदा रातारात रंगरोगन गर्ने गरेको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ काठमाडौंमा हुँदैछ । त्यसको तयारीका लागि सरकारले अस्तव्यस्त सडकमा टालटुल गर्ने कामलाई प्राथमिकता दिएको छ । सडक विभागले दिउँसोको समयमा सडक टालटुल गर्ने क्रममा राजधानीको दैनिकी नै प्रभावित हुदै आएको छ । व्यस्त सडकमा सवारी रोक्दा घण्टौं जाम हुने गरेको छ ।

पैदल यात्री शम्भु श्रेष्ठ विदेशी पाहुना आउने बेलामा मात्र रातारात सडक टालटुल गर्ने प्रवृत्ति गलत भएको बताउँछन् । उनी भन्छन्– ‘अघिपछि चुप लागेर बस्ने, सडकमा ठूलठूला खाल्डा पर्दा पनि सरकारी निकायले नदेख्ने विदेशी राष्ट्र प्रमुखहरु आउने भएपछि रातारात सडक टाल्नु गलत काम हो ।’

सडक विभागले सडकको संरचनालाई राम्रो बनाउन ठाउँठाउँमा खाल्डखुल्डी टाल्ने काम अगाडि बढाए पनि दिउँसो सवारी जाम र राति पानी पर्दा समस्या झेल्दै आएको छ । पानी परेको बेला सडकमा पिच गर्न मिल्दैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थदेखि बिमस्टेकमा सहभागी हुने आउने पाहुना वस्ने होटल सम्मको सडक चिटिक्क पारेर सिंगार्ने काम धमाधम भइरहेको छ । सडकको दायाँबायाँ रहेको नेपाल टेलिकमको तारको व्यवस्थापन गर्ने, अस्तव्यस्त फुटपात निर्माण लगायतको काम भइरहेको छ । तर अघिपछि भने सरोकारवाला निकाय मौन रहने गरेको छ ।

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने र सडकलाई व्यवस्थित बनाउने काम अन्तिम चरणमा पुगेको बताए । उनले भने– ‘रातभर पानी पर्छ, दिउँसो ट्राफिक जामका कारण काम गर्न गाह्रो भएको छ तर पनि सम्पन्न गर्ने क्रममा छौं ।’ उनले ठीक समयमा ठीक काम नगर्दा एकैपटक बोझ बढी परेको उल्लेख गर्दै वर्षाको समयमा सडकमा बढी खाल्डाखुल्डी देखिने गरेको बताए ।
नेपाल समाचारपत्रबाट

Logo