काठमाडौँ
डोल्पाका युवाहरुले आफ्ना सांसद धनबहादुर बुढालाई राजीनामा गराउने षड्यन्त्र भएको भन्दै यो कुरा आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । सांसद बुढालाई राजीनामा गराएर त्यस क्षेत्रमा बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेव गौतमलाई उपनिर्वाचन मार्फत संसदमा ल्याउन चलखेल भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
युवाहरुले काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर यस्तो चेतावनी दिएका हुन् । सांसद बुढाले डोल्पाली नागरिकको विश्वास जितेको र उनलाई पाँच वर्ष सम्म काम गर्न दिन पनि युवाहरुले नेतृत्वको ध्यानाकर्षण गराइसकेका छन् ।
चुनावमा पराजित भएका नेता वामदेव गौतमलाई सांसद बनाए त्यो नेकपाकै लागि पनि इतिहासको सबैभन्दा ठूलो कलंक हुने युवाहरुको तर्क छ । डोल्पाका स्थानीयले पनि बुढा आफ्ना प्रतिनिधि भएकाले उहाँलाई बाध्यतामा पारेर राजीनामा नगराउन चेतावनी दिएका छन् । अघिल्लो हप्ता वर्तमान पर्यटन राज्यमन्त्री समेत रहेका नेकपाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर डोल्पामा उपचुनाव गराई वामदेवलाई उम्मेदवार बनाउने आन्तरिक तयारी नेकपाले गरेको खवर सार्वजनिक भएको थियो । त्यस खवर सुने पछि डोल्पाका युवाहरुको यस्तो प्रतिक्रिया आएको हो ।





























प्रतिक्रिया