काठमाडौँ
आगामी १ भदौबाट नेपालमा गाई, गोरु मार्न वा कुट्न प्रतिवन्ध लगाइएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २८९ मा पशुपंक्षी सम्बन्धी कसूरको व्यवस्था गरिएको छ । उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्न गराउन बन्देज गरिएको छ ।
कसैको उद्योगले कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुने भएको छ । उपदफा ३ मा कसैले गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पारेमा ६ महिना सम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँँ सम्म जरिवाना तोकिएको छ । आफ्नो वा अरुको जिउ ज्यानमा पुर्याउने क्षतिबाट बच्नका लागि गरेको उद्योगबाट गाई वा गोरु मरेमा वा चोट लागेमा ऐन आकर्षित हुने छैन ।
ऐनको दफा २९० को उपदफा १ मा कसैले कुनै पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमता भन्दा बढी भारी बोकाई वा सामथ्र्य भन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्नु दण्डनिय हुनेछ , भन्ने उल्लेख छ ।
तर पशुपक्षीलाई कुनै काम गर्न सिकाउने, तालिम दिने, त्यसलाई आफ्नो काम प्रति निपुर्ण बनाउने उद्देश्यले न्यूनतम बल प्रयोग गरी कुनै काम गर्न वा पशुपंक्षीलाई त्यसको शारीरिक क्षमता अनुसार कुनै भारी बोकाउन वा दौडाउन भने बाधा पर्ने छैन । त्यस्ता कसूर गर्ने वा गराउने व्यक्तिलाई ३ महिना सम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायँ हुनेछ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया