काठमाडौं
सत्तारुढ नेकपाले संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा नदिए उनी विरुद्ध महाभियोग लगाउने चेतावनी दिएको छ ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरेका जोशीको शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको, फरक–फरक जन्ममिति पाइएको, न्यायालय सुधारका कुनै योजना पेस गर्न नसकेको लगायत आरोप सहित सुनुवाइ समितिले जोशीलाई प्रधानन्यायाधीशमा शुक्रबार अस्वीकृत गरेको थियो । समितिमा सत्तारुढ दल विपक्षमा उभिएपछि दुईतिहाइ मतबाट जोशीको सिफारिस अस्वीकृत भएको थियो ।
प्रधानन्यायाधीशमा अस्वीकृत भए पनि न्यायाधीश पदबाट राजीनामा नदिने अडान जोशीले राखेपछि नेकपाका नेताहरू जोशी प्रति असन्तुष्ट छन् । सुनुवाइ समितिबाट अस्वीकृत जोशीले अब न्यायाधीशका रूपमा काम गर्न नहुने नेकपाका नेताहरूको तर्क छ । ‘संसदीय समितिबाट अस्वीकृत भइसकेपछि न्यायाधीशका रूपमा काम गर्नु हुँदैन भन्ने हाम्रो भनाइ हो’, सुनुवाइ समिति सदस्य एवं नेकपाका सांसद पार्वत गुरुङले भने, ‘उहाँ (जोशी) ले राजीनामा दिएर न्याय सम्पादनमा सहयोग पु¥याउनु नै सबैभन्दा उत्तम हुन्छ ।’ नेकपाका अर्का एक सांसदले संसदीय समितिको निर्णयलाई चुनौती दिने गरी जोशी अघि बढे उनी विरुद्ध महाभियोग लगाइने चेतावनी दिए । ‘संसदीय समितिको निर्णय केही पनि होइन भनेर अघि बढ्ने दुस्प्रयास गरे निश्चित रूपमा पनि महाभियोग ल्याउँछौं’, ती सांसदले भने ।
जोशी प्रकरणलाई कांग्रेसले अन्तर्राष्ट्रियकरण गर्ने
यता दुईतिहाइ मतको आडमा सरकारले न्यायालय समेत कब्जा गर्न थालेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने जनाएको छ । दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सभापति शेरबहादुर देउवा निवासमा शनिबार कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको थियो । बैठकले सत्तारुढ नेकपाले दुईतिहाइका बलमा गरेको निर्णयलाई संसद, सडक हुँदै अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको हो ।
‘प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइ समितिले गरेको अस्वीकृति नेकपाको दुईतिहाइको बलमा भएको निष्कर्षमा हामी पुगेका छौं’, बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘यसलाई हामी संसद, सडक, बौद्धिक जगत हुँंदै अन्तर्राष्ट्रियकरण गर्छौं ।’
दुईतिहाइ मतका आधारमा गरिने निर्णयले शक्ति पृथकीकरणको सिद्धान्तमा समेत खेलवाड भएको अर्का नेता डा शेखर कोइरालाले बताए । ‘सत्तारुढ दलहरूको पछिल्लो भूमिकाबारेमा हामीमा आशंका देखिएकै हो’, डा कोइरालाले भने, ‘यसमा अन्तर्राष्ट्रिय समुदायको समेत चासो छ । हामी पनि अन्ततः अन्तर्राष्ट्रिय जगतलाई यसप्रति गम्भीर हुन आग्रह गर्छौं । दुईतिहाइको आडमा सबैतिर प्रभाव देखाउन खोज्ने हो भने यस्तो बलमिच्याइँले शक्ति पृथकीकरणको सिद्धान्तमै खेलवाड हुन्छ ।’
अन्नपूर्णबाट




















