काठमाडौँ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिक्टा सिँचाइ आयोजनाको निर्माणाधीन नहरमा देखिएको समस्या समाधानका लागि आवश्यक निर्देशन दिएको छ । निर्माण व्यवसायीले उक्त नहर हस्तान्तरण नगरेकाले क्षति भएका संरचनामा देखिएको समस्या समाधानका लागि मन्त्रालयले आवश्यक निर्देशन दिइएको र सुधारका कार्य समेत अगाडि बढाइएको सो मन्त्रालयले जनाएको छ ।
आयोजनामा देखापरेका समस्या समाधानको लागि ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायीको दायित्व अन्तर्गत गर्नुपर्ने आवश्यक सुधारका कार्य सोही संस्थाबाट गराउन आवश्यक निर्देशन दिई सकिएको जानकारी दिँदै मन्त्रालयले समस्या उत्पन्न हुनसक्ने संवेदनशील तथा समस्याग्रस्त स्थानको भौगर्भिक अवस्थाको समेत अध्ययन भएको छ ।
यस्तै नहर निर्माण भएको क्षेत्रको माटोको अवस्थाका बारेमा समेत विशेषज्ञसहितको संलग्नतामा सुक्ष्म प्राविधिक अध्ययन अनुसन्धान गरी आवश्यक सुधारका कार्य गराउन समेत सिँचाइ विभाग तथा आयोजनालाई निर्देशन दिइसकिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।
बाँके जिल्लाको करीब ४२ हजार हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सेवा पु¥याई खाद्य उत्पादनमा महत्वपूर्ण टेवा पु¥याउने उद्देश्यका साथ सिक्टा सिँचाइ आयोजना निर्माण भइरहेको छ । सो आयोजनाको पश्चिम मूल नहरको अधिकांश कार्यसहित करीब ५५ प्रतिशत पूर्वाधार निर्माणको कार्य सम्पन्न भएको छ । शाखा नहरको निर्माणको क्रममा सिधनिया शाखा नहरको निर्माण कार्य सम्पन्न हुने क्रममा रहेको छ ।
राप्ती नदीमा बाँध निर्माणको कार्य सम्पन्न भएसँगै मूल नहरको ३५ किलोमिटर सम्मको निर्माण पश्चात उक्त खण्डको परीक्षणको क्रममा पानी सञ्चालन गर्दा केही स्थानमा नहरमा क्षति पुगेको हो । राष्ट्रिय रुपमै महत्वपूर्ण यस आयोजनाको निर्माण कार्य लक्षित समय भित्रै सफलतापूर्वक सम्पन्न गर्न तथा गराउन मन्त्रालय प्रतिबद्ध रहेको छ । तर स्थानीयले निर्माण व्यवसायीको लापर्वाहीका कारण शाखा नहरमा नै क्षति पुगेको भन्दै गुनासो गरेका छन् । कूल २५ अर्ब लागतको सो आयोजना आर्थिक वर्ष २०७६/७७ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो आयोजनाको निर्माण व्यवसायीमा कालिका कन्स्ट्रक्सन छ ।
रासस





























प्रतिक्रिया