काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन प्रतिपक्षी दलले अधिनायकवादको हल्ला फिजाएको आरोप लगाएका छन् । उनले प्रतिपक्षीले अधिनायकवादको हल्ला फिजाए पनि लोकतान्त्रिक प्रक्रियाबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सरकारले लोकतन्त्रको रक्षा गर्ने उल्लेख गरे ।
२१ औं तुल्सीलाल स्मृति दिवसको अवसरमा बिहीबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाइको सरकारलाई प्रमुख प्रतिपक्षी दलले काम गर्न नदिएको आरोप लगाए । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा कांग्रेसले अवरोध गरेको भन्दै आलोचना गरे । ओलीले सुनुवाइ समितिले प्रक्रिया पु¥याएर मात्र प्रधानन्यायाधीशको अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।
‘सुनुवाइ समितिले सुन्ने मात्र हो, जस्तो आयो त्यस्तै अनुमोदन गर्नुपर्छ भन्दै अवरोध भइरहेको छ,’ प्रधानमन्त्रीले भने, ‘जस्तो आयो त्यस्तै अनुमोदन गर्ने भए सुनुवाइ समिति किन चाहियो ?’ सरकारले प्रक्रिया अनुसार सिफारिस गर्ने बताउँदै उनले सिफारिस भएका नाम माथि उजुरी संकलन गरेर त्यसको छानबिन गरी अनुमोदन गर्ने बताए । उजुरी परेपछि समितिमा जवाफ दिएर समितिले त्यसलाई छलफल गरेर चित बुझे मात्रै अनुमोदन हुने प्रक्रिया रहेको बताए ।
प्रधानन्यायाधीशको नाम संवैधानिक परिषदमा वरिष्ठताका आधारमा पठाएको भन्दै प्रधानमन्त्रीले उनको नाम अनुमोदन गर्ने कि नगर्ने जिम्मा सुनुवाइ समितिको भएको बताए । उनले प्रधानन्यायाधीश प्रकरणमा कांग्रेसले छलफल नै गर्न नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
संवैधानिक परिषद्ले आएका नाम मध्येबाट वरिष्ठताका आधारमा नाम सिफारिस गर्ने प्रचलन रहेको र उनको सिफारिस पनि सोही अनुसार भएको बताए । प्रधानमन्त्री ओलीले सुनुवाइ समितिको निर्णय सरकारले पर्खिरहेको जानकारी दिए । वर्तमान सरकारविरुद्ध घृणाको खेती नगर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुक र जनताको समृद्धिको चाहना पूरा गर्ने काममा लाग्न आग्रह गरे ।
राजधानीबाट





























प्रतिक्रिया