काठमाडौं
‘आगन्तुकलाई अनुमति छैन’ सेतो पानामा सूचना टाँसिएको छ, डा.गोविन्द केसीको उपचार कक्ष बाहिर । सूचनालाई अटेर गर्दै उनको कोठा भित्र छिर्नेहरूको कमी छैन । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजीको कोठा नं ५०२ मा बिहीबार कांग्रेसका नेता अर्जुननरसिंह केसी लुसुक्क छिरे ।
सत्ताइस दिन लामो अनशनले कमजोर बनेका डा.केसी अझैं तङग्रिन सकेका छैनन् । रक्तचाप न्यून छ । अनशन बस्दा घटेको पोटासियम, म्याग्नेसियम, क्याल्सियम लगायतका विभिन्न रसायनको न्यूनतालाई सन्तुलनमा ल्याउन औषधि सेवन गरिरहेको डा.केसीको आफन्त अनिल कार्कीले जानकारी दिए ।
उनलाई नेता, शुभचिन्तक, विद्यार्थी र सञ्चारकर्मी भेट्न गइरहन्छन् । बिहीबार पत्रकार सम्मेलन गर्ने उनको योजना शरीरले साथ नदिँदा सफल हुन सकेन । ‘बुधबार राति अचानक उहाँलाई गाह्रो भयो । ग्यासट्राइटीसको समस्या छ । विशेष गरी राति निद्रामा समस्या देखिएको छ’, डा.केसीलाई रातभरि कुरेका आफन्त कार्कीले भने ।
६ दिन सम्म आइसीयुमा राखेर उपचार गरेपछि उनलाई गत मंगलबार सामान्य बार्डमा सारिएको छ । रगत परीक्षण प्रतिवेदन र मुटुको चाल (इसीजी) मा सुधार देखिएपछि बार्डमा सारिएको भए पनि स्वास्थ्य नाजुक रहेको कार्कीले जानकारी दिए । उनको सेतो रक्तकोषको संख्या अझै पर्याप्त नभएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । कार्कीले भने, ‘रक्तचाप निकै न्यून छ ।’ स्वास्थ्य व्यक्तिको रक्तचाप सामान्य अवस्थामा १२०/ ८० हुनु पर्नेमा डा केसीको भने ८०/९० रहेको उनले बताए । अहिले पनि मुटुको चाल मापन गर्न चौबिसै घण्टा इसीजी मनिटर जडान गरिएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया