काठमाडौं
सरकारले जनप्रतिनिधिहरुले विदेश जाँदा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्ने कार्यविधि बनाएको भएपनि काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य परराष्ट्र मन्त्रालयलाई थाहै नदिइ जापान उडेका छन् । निर्वाचित भए देखि नै उनको काम गराई लाई लिएर आलोचित बन्दै आएका शाक्य परराष्ट्रलाई थाहै नदिई शाक्य मंगलबार सुटुक्क जापान तिर लागेका हुन् ।
परराष्ट्र मन्त्रालय सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले मेयर शाक्य जापान गएकोबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘यो प्रधानमन्त्रीको कार्यालयको सरोकारको विषय हो, उनले भने, हामीलाई शाक्य जापान गएको बारेमा कुनै जानकारी छैन ।’ उता प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव विनोद कुँवरले शाक्य बिनाअनुमति जापान उडेको बारेमा बुझ्नु पर्ने बताए ।
तर महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले शाक्य मंगलबार जापान गएको पुष्टि गरेका छन् । यसअघि ललितपुरका मेयर चिरिबाबु महर्जन समेत परराष्ट्रको स्वीकृति बिना विदेश गएका थिए ।
स्थानीय तहका जनप्रतिनिधिहरुले परराष्ट्रको स्वीकृत लिएर मात्रै विदेश जानुपर्ने कार्यविधि सरकारले बनाएको छ । केपी ओली नेतृत्वको सरकारले सुरुबाटै कर्मचारी र जनप्रतिनिधिलाई आफू खुसी विदेश जान रोक लगाइसकेको छ। तर पनि मेयर शाक्य किन र कसको अनुमतीमा कहिले सम्मका लागि जापान गएका हुन् भन्ने बारेमा केहि खुलेको छैन ।





























प्रतिक्रिया