काठमाडौँ । नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । प्रधानमन्त्री भए पश्चात मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ ।
गत वैशाख २८ गते दुई दिने भ्रमणमा उनी जनकपुर हुँदै काठमाडौं आएका थिए । भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरूका कार्यकारी सरकार प्रमुख नै सहभागी हुने भएपछि मोदी पनि आउने भएका हुन् ।
सदस्य राष्ट्रका कार्यकारी सरकार प्रमुखहरूको सहमतिमा सम्मेलनको मिति तय भएकाले सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुख सम्मेलनमा सहभागी हुने सम्भावना रहेको परराष्ट्र स्रोतले जनायो । स्रोतले भन्यो, ‘दुई देशबाट कार्यकारी सरकार प्रमुख सहभागी हुने जानकारी आइसकेको र अन्य देशबाट जानकारी आउने क्रममा रहेको छ ।’
काठमाडौंमा मंगलबार आयोजित नेपाल–भारत प्रबुद्ध समूहको एउटा कार्यक्रममा सहभागी भारतीय प्रबुद्ध व्यक्तिहरूले पनि आगामी महिना भारतीय प्रधानमन्त्री बिमस्टेक सम्मेलनमा नेपाल आउने बताएका थिए ।
यस पटकको बिमस्टेक सम्मेलनमा नेपालले बिमस्टेक बडापत्र निर्माणमा जोड दिने स्रोतको दाबी छ । सन् १९९७ मा स्थापित बिमस्टेकको त्यसयता २० वर्षमा पनि बडापत्र तयार हुन सकेको छैन । यस पटक सम्मेलनमा बडापत्र निर्माणमा नेपालले जोड दिने तयारी गरेको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया