काठमाडौँ
संसदीय सुनुवाई विशेष समितिका सदस्य एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुमनराज प्याकुरेलले आज बस्ने सुनुवाई समितिको बैठकबाट सर्वसम्मतिमै प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको टुंगो लगाइने बताएका छन् ।
‘हामी समितिमा भएका १५ जना नै सदस्यहरुबीच एकरुपता छ । समितिमा एकदम हार्दिकता छ । बाहिर चर्चा भए जस्तो हामी विभाजित छैनौँ’, उनले भने । सांसद प्याकुरेलले संविधानले व्यवस्था गरे अनुसार समिति बनेको बताउँदै संवैधानिक परिषद्लाई सम्मान गरेर निर्णय गरिने जानकारी दिए ।
सांसद प्याकुरेलले पुनरावेदन अदालतको निर्णय सर्वोच्च अदालतले उल्टाउन सक्ने गरेको स्मरण गर्दै उनले सुनुवाइ समितिले संवैधानिक परिषदको निर्णय दुईतिहाइले उल्टाउन सक्ने पनि संकेत गरे । ‘पुनरावेदनको निर्णय सर्वोच्चले उल्टाए जस्तै संवैधानिक परिषद्को निर्णय संसदीय सुनुवाइ समितिले उल्ट्याउन सक्छ’, उनले भने, ‘संवैधानिक व्यवस्था अनुसार पनि दुईतिहाइ जुटेको अवस्थामा हामी संवैधानिक समितिको निर्णय उल्ट्याएर नयाँ कदम चाल्न सक्छौँ ।’
प्याकुरेलले न्यायिक संस्थाको प्रमुखले संसदलाई दबाब दिन नहुने धारणा राखे । ‘हामीले उहाँलाई कठघरामा होइन, सोफामा राखेर त्यो पनि पत्रकारहरुको अगाडि प्रश्न सोधेका छौं’, उनले भने, ‘उहाँको जवाफ उचित भएन भनेर स्वयं पत्रकारहरुले नै लेख्नु भएको छ । आजको युगको अदालत र संसद भनेको पञ्चायती जस्तो होइन । कानुनी अक्षरलाई हेरेर मात्रै निर्णय हुँदैन ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया