काठमाडौं
टाइफाइडको लक्षणसँग मिल्दोजुल्दो स्क्रब टाइफसका बिरामीहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । काठमाडौंँ उपत्यका र त्यस आसपासका जिल्लाहरूबाट पनि स्क्रब टाइफसका बिरामी आउने क्रम बढिरहेको चिकित्सकले बताएका छन् । सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च संयोजक डा शेरबहादुर पुनले केही दिन यता स्क्रब टाइफसका बिरामी बढ्न थालेको जानकारी दिए ।
गतवर्ष झैं वर्षा मौसमसँगै देखापर्ने स्क्रब टाइफसका बिरामी अहिले पनि देखा पर्न थालेका छन् । डा. पुनले भने, “सिन्धुपाल्चोक जिल्लाबाट मात्रै सरुवा रोग अस्पतालमा तीन जना स्क्रब टाइफसका बिरामी उपचारपछि फर्किएका छन् ।” सरुवा रोग विशेषज्ञ डा पुनले पछिल्लो समय गोरखा, चितवन, सिन्धुपाल्चोक, धादिङ, काभ्रे र सर्लाही जिल्लाबाट स्क्रब टाइफसका बिरामी उपचारको लागि आएको जानकारी दिए ।
नेपालमा पहिलोपटक सन् २०१५ मा धरानको बीपी कोइराला मेमोरियल अस्पतालमा स्क्रब टाइफसका बिरामी देखिएका थिए । स्क्रब टाइफसकै कारण केही बालबालिकाको मृत्यु भएको थियो । डा पुनका अनुसार वर्सेनि स्क्रब टाइफसबाट विरामीको मृत्यु भइरहेको हुन्छ ।
नेपालमा स्क्रब टाइफस फैलँदै गइरहेको भन्दै पुनले यसबाट अझै प्रभावित हुनसक्ने जानकारी दिए । पुनले स्क्रब टाइफस हुँदा उच्च ज्वरो आउने, छालामा बिमिरा देखिने, अत्याधिक टाउको दुख्ने, आँखा रातो हुने, ग्रन्थी सुन्निने, सास फेर्दा असजिलो हुने र किर्नाले टोकेको ठाउँमा कालो पाप्रो देखिने जानकारी दिदै यस्ता लक्षण देखा पर्नासाथ चिकित्सक कहाँ जान सुझाव दिए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निवर्तमान निर्देशक डा केदार सेन्चुरीले वर्षायाममा देखा पर्ने स्क्रब टाइफस यो वर्ष पनि देखा पर्न थालेको जानकारी दिदै महाशाखामा फाटफुट रुपमा यसको रिपोर्ट आउन थालेको बताए । महाशाखाका निर्देशक विवेककुमार लालले भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आफू निर्देशक भएर आएको तीन दिन मात्र भएकोले यसबारे कुनै जानकारी नभएको बताए ।
गोरखापत्रबाट





























प्रतिक्रिया