काठमाडौँ
कांग्रेसले पञ्चायत र राणासँग लडेर प्रजातन्त्र ल्याएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वसत्तावाद लाद्न उद्यत कम्युनिस्टसँग पनि लड्ने बताए । उनले अहिले निषेधित क्षेत्र तोक्ने, शान्तिपूर्ण आन्दोलन गर्न नदिने कम्युनिस्टहरूले बोल्न, लेख्न समेत नदिने दिन आउन सक्ने बताए ।
देउवाले शान्तिपूर्ण आन्दोलन गर्न नपाउने गरी हस्तक्षेप गर्दै निषेधित क्षेत्र तोक्ने कम्युनिस्ट सरकार कहिल्यै प्रजातन्त्रवादी बन्न नसक्ने आरोप लगाएका छन् । कांग्रेसका संस्थापक बिपी कोइरालाको ३६ औँ स्मृति दिवसका अवसरमा आइतबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् ।
‘बिपी कम्युनिस्टसँग मिल्नै हुन्न भन्नु हुन्थ्यो । पहिलोपटक शान्तिपूर्ण प्रदर्शन समेत गर्न नदिने कम्युनिस्टहरू सर्वसत्तावादी शासन लाद्न उद्यत छन्,’ देउवाले भने, ‘बिपीले कम्युनिस्टहरूलाई उसैवेला चिन्नु भएको रहेछ, हामीले अहिले कम्युनिस्टलाई चिन्यौँ । उनीहरू कहिल्यै प्रजातन्त्रवादी हुन सक्दैनन् ।’
सभापति देउवाले अनशनरत डा गोविन्द केसीको माग जायज भएको बताए । ‘माथेमा आयोगको रिपोर्टलाई आधार मानेर सबैसँग सल्लाह गरेर अध्यादेशलाई हामीले अगाडि बढाउन खोज्यौँ,’ देउवाले भने, ‘तर प्राइभेट कलेज खोली पैसा खान खोज्नेहरू उद्यत छन् । गोविन्द केसीको माग जायज छन् । हामी समर्थनमा छौँ । उहाँको माग पूरा गर्न र जीवन बचाउन तयार छौँ ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया