काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुम्लामा अस्पताल भित्र पसेर प्रहरीले हस्तक्षेप गर्नु असभ्यताको नांगो नाच भएको बताएका छन् । बिहीबार डा गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा प्रहरीले जुम्ला अस्पताल भित्र पसेरै दमन गरेको थियो । सोही घटनालाई प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले ‘असभ्यताको नांगो नाच’ को संज्ञा दिएका हुन् ।
सूचना टाँस गरेर बिहिबारको प्रतिनिधिसभा बैठक स्थगन भएपछि संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले इतिहासमा कहिल्यै पनि अस्पताल भित्र पसेर प्रहरीले दमन नगरेको बताए । “अहिले सम्म अस्पतालमा पसेर हस्तक्षेप भएको थिएन । सरकारले अस्पतालमा पसेर असभ्यताको नांगो नाच गरेको छ । यसको घोर भत्र्सना गर्दछु,” सभापति देउवाले भने । उनले डा केसीको माग जायज भएको भन्दै सहमतिमा यसअघि सरकारले ल्याएको अध्यादेश हुबुहु ल्याउन आग्रह गरे । त्यसो नगरे कांग्रेसलाई मान्य नहुने उनको भनाइ थियो ।
केसीको जीवन रक्षा गर्न पनि उनले माग गरे । त्यस्तै सभापति देउवाले संसद बैठक स्थगन गरिएकोमा असन्तुष्टि पनि जनाए । प्रतिनिधिसभाको बिहिबाका लागि तय भएको बैठक स्थगन गर्दै प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबार सम्मका लागि सारिएको छ ।
कांग्रेस पनि दोषी : विवेकशील साझा
यता विवेकशील साझा पार्टीले डा गोविन्द केसी माथि सरकारले गरेको हस्तक्षेपको विरोध गरेको छ । पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा सरकारले देखाएको दम्भ र अमानवीय बल प्रयोगको निन्दा गरिएको छ । “वर्तमान स्थिति आउनमा अहिलेका सत्ताधारी दलहरु जति जिम्मेवार छन्, त्यत्ति नै जिम्मेवार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि छ,” आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उदारीकरणका नाममा कसिलो नियमनबिना नै शिक्षा र स्वास्थ्य जस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गरेर त्यसलाई नाफाखोर व्यापारीहरुको हातमा पुर्याउने कार्यमा विगतमा नेपाली कांग्रेसको सरकारको प्रमुख भूमिका थियो ।”
कारोबारबाट





























प्रतिक्रिया