नुवाकोट
नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट चुलिएसँगै राजधानीका सडक, चोक र घर–घरमा फोहोरको डंगुर थुप्रिन थालेको छ । ल्यान्डफिल साइटमा बनेको ‘फोहोरको पहाड’ भास्सिन थालेकाले साता यता काठमाडौं, ललितपुर र भक्तपुरबाट फोहोर बोकेर पुगेका टिपर ‘फोहोरको पहाड’ चढ्न सकिरहेका छैनन् ।
१५ वर्ष देखि काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा सक्रिय एक मजुदरले भने, ‘३ वर्षका लागि फोहोर फाल्न बनाएको ठाउँमा १३ वर्ष सम्म थुपार्दा यस्तो स्थिति आएको हो ।’ उनका अनुसार पहिले फोहोर खाल्डोमा फालिन्थ्यो, अहिले खाल्डो पुरिएर पहाड बनेको छ । फोहोर बोकेर गएका टिपरले त्यही पहाडको टुप्पोमा पुगेर अनलोड गर्नुपर्ने बाध्यता छ ।
वर्षातका कारण फोहोरको पहाड भास्सिँदै गएको छ । ठाउँ–ठाउँमा धाँजा फाटेर जमिन पनि कोल्पुखोलातर्फ धस्सिन थालेको छ । फोहोर माथि खनिएका सडक हिलो र चिप्लो भएकाले लोड बोकेर गएका टिपर फोहोरको थुप्रोमा चढ्न नसकी अलपत्र पर्ने गरेका छन् । ‘चार दिन सम्म फोहोर अनलोड गर्न नसक्दा यहीँ भोकभोकै बस्नुपर्यो,’ टिपर चालक विजय देउजाले भने । पानी नपरेको बेलामा पनि फोहोरवाहक टिपर टाकुरामा पुग्न मुस्किल हुन्छ । ‘फोहोर माथिको उकालो सडकमा टिपर धकेल्न डोजर राखिएको छ,’ देउजाले भने, ‘एउटा टिपरलाई आधा घण्टा भन्दा बढी लगाएर धकेले पछि मात्रै माथि पुग्छ, अनि अर्कोको पालो आउँछ ।’
कान्तिपुरबाट































प्रतिक्रिया