काठमाडौं
लामो समय देखि कर्मचारीको किचलो झेल्दै आएको संघीय सरकारले स्थानीयतहमा थप दश हजार कर्मचारी पठाउने तयारी गरिरहेको छ । लामो समय देखि केन्द्रमा हालिमुहाली गर्दै आएका कर्मचारीहरु स्थानीय तहमा जान अटेर गरिरहेको बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो गृहकार्य अघि बढाएको हो ।
स्थानीयतहमा भइरहेको कर्मचारी अभावलाई असार भित्रै पूर्ति गर्ने उदेश्य सहित सो गृहकार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । राज्यलाई ढाँटेर केन्द्रमै बस्ने कर्मचारीलाई स्थानीय तहमा जान अटेर गरेमा कडा कारवाही गर्ने चेतावनी सहित मन्त्रालयले सो तयारी अघि बढाएको बुझिएको छ । मुलुकमा संघीयताको अभ्यास भइरहेको बेला कर्मचारी भने परिर्वतन हुन नसकेको स्वीकार गर्दै प्रवक्ता अधिकारीले यसपटक स्थानीय तहमा कर्मचारी पठाउन कडाई गरेको पनि बताए ।
अव १० हजार कर्मचारी गएपछि कुनै पनि स्थानीय तहमा कर्मचारी अभाव नहुने प्रवक्ता अधिकारीकोे भनाई छ । अहिले ७ सय ५३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएपनि योजना तर्जुमा गर्ने , लेखा , कानून सम्बन्धी बुझेका अधिकृत, खरिदार र सुब्बा तहका कर्मचारी खासै पुगेका छैैनन् । संघीय मामिला तथा स्थानीय बिकास मन्त्री लालबाबु पण्डितले मन्त्रालय सम्हालेपछि केन्द्रबाट ४ सय ६१ जना कर्मचारी स्थानीय तहमा खटिएका थिए ।
गत चैत १४ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले ५७ हजार ३ सय ५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले स्थानीय तहको अन्तरिम संगठन, संरचना तथा दरबन्दीको प्रस्ताव गरी सो निर्णय गरेपनि कर्मचारीहरु स्थानीय तहमा जान अटेर गर्दै आएका थिए । यस्तो अवस्थामा पुनः कर्मचारी पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया