चितवन
चितवनको भण्डारादेखी धादिङको मलेखुसम्मको चेपाङ राजमार्ग निर्माणकार्य सुरु भएको छ । ट्रयाक खोलेको ८ बर्षपछि चितवनबाट सिधै काठमाडौं जाने चेपाङ राजमार्गको पहाडी खण्ड निर्माण थालिएको हो । डिभिजन सडक कार्यालय मार्फत थालिएको सडक निर्माणको काम चितवन तर्फ भण्डाराको प्यारीढाप र मलेखुको धादिङबाट निर्माणकार्य सुरु भएको छ ।
नेपाल भारत सिमानाका चितवनको ठोरीबाट सुरु गरेर रसुवागढी सम्म यो सडक पु¥याउने सरकारी योजना रहेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र कुमार झाले बताए । चितवन खण्ड अन्तर्गत ११ किलोमिटर र धादिङ तर्फ ११ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भइ काम सुरु भइसकेको उनले जानकारी दिए ।
चितवन तर्फको साँढे चार किलोमिटर कलोपत्रे र साँढे ६ किलोमिटर सडकको बेस विच्छ्याउने काम भइरहेको प्रमुख झाले बताए । राप्ती नगरपालिकाको आँपपानी देखि थाकलटार सम्म सडक कलोपत्रे गर्न बेस विच्छ्याइएको छ । धादिङ तर्फ भने ११ किलो मिटर कालोपत्रे गर्ने ठेक्का बमोजिम ८ किलोमिटर सडक चौडापार्ने काम भैरहेको प्रमुख झाले बताए । “चितवन र धादिङबाट ११/११ किलोमिटर कालोपत्रे गर्न २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम भइरहेको भन्दै झाले भने’, २२ किलोमिटर सडक निर्माणको काम असोज महिना भित्रै सम्पन्न गरी बाँकी सडकखण्ड निर्माणको लागि अर्को टेण्डर आह्वान गर्ने सरकारी योजना छ ।” ठेक्का सम्झौता भएको २२ किलोमिटर सडकको काम ७० प्रतिशत पुरा भइसकेको कार्यालय प्रमुख झाको दाबी छ । भण्डारा–मलेखु सडक चार बर्ष भित्र सम्पन्न गर्नेगरी तीब्र गतिमा काम भइरहेको कार्यालयका प्रमुख झाले बताए । सडकखण्ड अन्तर्गत चितवनखण्ड ३९ र धादिङ खण्ड २३ किलोमिटर पहाडी सडक निर्माण हुनेछ ।
भण्डाराबाट मलेखु सम्मको सडकखण्ड ६२ किलोमिटर भएपनि ठोरीदेखि मलेखु सम्म १ सय ३२ किलोमिटर सडक निर्माण हुनेछ । सो सडकमा साँढे पाँच मिटर कालोपत्रे र सोल्जर सहित सात मिटरको सडक निर्माण हुने झाले बताए । ठोरीबाट भण्डारा सडक जोड्न निकुञ्जले अनुमति दिनुपर्ने भएकाले समस्या सृजना भएको कार्यालयका प्रमुख झाले बताए ।
सो सडकखण्ड अन्र्तगत राप्ती नगरपालिकाको वडा ११ हात्तीढाप र वडा नं १२ ढिटार जोडने लोथर खोलामा ९० मिटरको पुल निर्माणको काम भइरहेको छ । सडक निर्माण सुरु भएपछि चेपाङ समुदायमा खुसियाली छाएको छ । भण्डारा मलेखु सडक सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी साधनको चाप घट्ने छ भने पहाडी क्षेत्रमा बसोवास गर्ने सीमान्तकृत चेपाङ समुदायको जीवन स्तर सुधारिने छ । सो सडक निर्माण भएपछि चितवनबाट काठमाडौको सडक दुरी पनि घट्ने छ ।
भण्डारबाट महेन्द्रराजमार्ग हुदै मलेखु सम्म जान १ सय ६ किलोमिटरको दुरी छ भने भण्डारा–मलेखु चेपाङ राजमार्ग ६२ किलोमिटर मात्रै रहेकाले ४४ किलोमिटर दुरी कम हुने डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए । सो सडकको ट्रयाक खोलेपछि भण्डाराबाट यौरेलीटार सम्म सवारीसाधन चल्न थालेका छन् । पहाडी क्षेत्रमा गाडी चल्न थालेपछि चेपाङलाई आफुले उत्पादन गरेको सामाग्रीहरु बजार सम्म ल्याउन सहज भएको छ । “बस चल्न थालेपछि धेरै सजिलो भएको छ’, राप्ती नगरपालिका वडा नं. १३ कालिटारका जमानसिंह प्रजाले भने’,पहिला ५ घण्टा हिडेर भण्डारामा जानु पथ्र्यो अहिले चाडै पुगिन्छ ।” उनले आफुले उत्पादन गरेको कृषि सामाग्री बसमै हालेर बजार सम्म लैजाने गरेको बताए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया