काठमाडौं
आगामी असोज मसान्त भित्र मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा उपलब्ध गराउने शर्त सहित सरकारले इटालियन निर्माण व्यवसायी सिएमसी दि रेभेनाको म्याद तीन महिनाका लागि थप गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालय मातहतको मेलम्ची खानेपानी आयोजना विकास समिति र निर्माण व्यवसायीका उच्च प्रतिनिधिको छलफलपछि निर्माण व्यवसायीको म्याद थप गरिएको हो ।
मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद कँडेलका अनुसार आगामी दशैँ अगावै मेलम्ची आयोजनाको पानी सुन्दरीजलमा पथान्तरण (पानी खसाल्ने) गर्ने शर्त सहित निर्माण व्यवसायीसँग सहमति भएको हो ।
निर्माण व्यवसायीको रुपमा सिएमसीले तोकिए बमोजिमको काम नगरेपछि खानेपानी मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा इटालीमा रहेको उच्च व्यवस्थापनलाई पत्राचार गरेको थियो । गत जेठ १८ गते १५ दिनको म्याद राखेर मन्त्रालयले आयोजनामा किन ढिलाई भएको हो, भन्ने प्रश्नको उत्तर दिन भनेको थियो ।
मन्त्रालयको पत्र लगत्तै सिएमसीको केन्द्रीय कार्यालय इटालीबाट निर्माण व्यवसायीको उच्च प्रतिनिधि नेपाल आएको थियो । पटकपटक काम गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्ने तर कुनै पनि जिम्मेवारी पूरा नगर्ने देखिएपछि सरकारले ठेक्का तोड्ने सम्मको चेतावनी दिएको थियो ।
“लगातारको छलफलपछि निर्माण व्यवसायी असोज मसान्त सम्म सुन्दरीजलमा पानी पथान्तरण गराउन सहमत भएको छ ”–कार्यकारी निर्देशक कँडेलले भने । गत चैत २७ गते नै आयोजनाको कूल २७ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रू’ भएपछि निर्माण व्यवसायीले काम गर्न आलटाल गर्दै आएको थियो । उसले ‘गोरखा भूकम्प’ र भारतको अघोषित नाकाबन्दीपछि आफूहरुले बढी काम गर्नु परेको र बाँधस्थल रहेको सिन्धुपाल्चोकको अम्बाथानमा तोकिए भन्दा बढी काम गरेको भन्दै एक अर्ब ६५ करोड थप रकम माग गर्दै आएको थियो ।
रासस





























प्रतिक्रिया