रमेश गिरी, भक्तपुर ।
राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सूचना लुकाउँने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले आज यहाँ आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कतिपय कर्मचारीले अझै पनि सहज रुपमा सूचना नदिने र सूचना अधिकृत नराख्ने गरेको पाईएकाले त्यस्तालाई कारबाही गर्नुपर्ने बताउनु भयो ।
कर्मचारीहरुमा अझैपनि पंचायतकालिन मनोबृत्ति रहेको बताउँदै उहाँले कर्मचारीको व्यबाहार परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले सात वटै प्रदेशमा सूचना आयोग स्थापना गरेर सूचना आयुक्त राख्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सूचनाको हकका बारेमा आमनागरिकले जानकारी पाउँनु पर्ने र सबै कार्यालयमा सहज रुपमा सूचना उपलब्ध गराउँने व्यबस्था गरिनु पर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सबै कार्यालयमा सूचना अधिकारी राख्न र सहज सूचना प्रदान गर्न संयन्त्र बनाएर सर्कुलर जारी गर्ने बताउनुभयो । सूचना अभियन्ता एवं गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले सूचनाको हकका बारेमा गाउँ गाउँका र तल्लो तहका तहका नागरिकसम्मलाई जानकारी गराउनु पर्नेमा जोड दिदै नागरिकले सूचनाको हक अधिकारमा बारेमा जानकारी नपाएसम्म सूचना माग नहुने बताउनुभयो । पत्रकार महासंघका सल्लाहकार नारायण किलम्बुले सूचना दिने कर्मचारीलाई हाकिमले कारबाही गर्न धम्की दिने गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा नवनिर्वाचित उपत्यका सचिव अमर भुजु, सदस्यद्धय भगवति थापा र लक्ष्मी गारुलाई खादा र माला लगाएर बधाई दिएको थियो ।





























प्रतिक्रिया