बेइजिङ
नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले प्राचीन समयमा दक्षिण एसियासँग चीनलाई जोड्ने आर्थिक हब नेपाल भएको बताए । ‘प्राचीन सिल्करोडको अंगका रूपमा नेपालले दक्षिण एसिया र चीन जोड्ने भूमिका खेलेको थियो । अब त्यो दुवै देशको हितका लागि ब्युँताउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले अघिल्लो चीन भ्रमणमा पारवहन, सूचना तथा व्यापारमा महत्वपूर्ण सम्झौता गरेको स्मरण गर्दै बेल्ट एन्ड रोड अन्तर्गत चीनसँग विकासमा साझेदार बन्न सहमत भएको बताए । त्यस्ता सहमति र सम्झौताले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम खोलेको उनको धारणा थियो ।
त्यस्तै नेपाल र चाइना अप्ठ्यारो समयमा सधैँ एक–अर्काको सहयोगी बन्दै आएको र साझा विकास र दीर्घकालीन शान्तिको लागि सहकार्य गर्नुपर्ने ओलीले बताए । उनले चीनसँग नेपालको यातायात, पर्यटन, लगानी जस्ता क्षेत्रमा महत्वपूर्ण सहकार्य हुन सक्ने बताए । ओलीले यातायात विकासलाई उच्च प्राथमिकता दिएको र आफ्नो सरकार अन्तरदेशीय रेल सञ्जाल बनाउन प्रतिबद्ध रहेको जनाए । ‘चीनसँगको सम्पर्क सञ्जालले नेपाललाई ग्लोबल तहमा पु¥याउनेछ । त्यसले नेपालमा पर्यटन विकासमा ठूलो योगदान हुने र नेपालले त्यसबाट फाइदा लिन सक्छ,’ प्रधानमन्त्रीले भने ।
नेपालमा प्रविधि मार्फत कृषि र उद्योगको विकासले युवालाई रोजगार सिर्जना हुने भन्दै उनले यसका लागि चीनसँग सहकार्य हुन सक्ने बताए । नेपालमा भएका जडीबुटी र हाइड्रोमा लगानी गर्न पनि चिनियाँ पक्षलाई आह्वान गरे । ‘नेपालमा सबै तहको निर्वाचन भएर अब स्थिरतातर्फ गएको र सामाजिक, आर्थिक विकासका लागि नयाँ यात्रामा लागेकाले तपाईंहरूलाई लगानी गर्न हार्दिक आमन्त्रण गर्छु,’ प्रधानमन्त्रीले भने ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया