काठमाडौं
प्रधानमन्त्री केपी ओली मोबाइल एप्स मार्फत जनतासँग प्रत्यक्ष जोडिने भएका छन् । ‘कुनै पनि नेपाली नागरिकले सीधै प्रधानमन्त्रीको एप्स डाउनलोड गरेर आफ्ना गुनासा सुनाउन सक्ने गरी अहिले डेभलपिङको काम भइरहेको छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने, ‘धेरैभन्दा धेरै जनताका गुनासा छिटो भन्दा छिटो सम्बोधन गर्नका लागि एप्सको तयारी गरिएको हो ।’ उनले साउन देखि उक्त मोबाइल एप्स सञ्चालनमा ल्याइने जानकारी दिए । प्रधानमन्त्रीका सूचना प्रविधि सम्बन्धी सल्लाहकार अस्गर अलीले एप्स निर्माणको नेतृत्व गरिरहेका छन् ।
प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको कार्यसम्पादन थप प्रभावकारी रूपमा अनुगमन गर्ने भएका छन् । मन्त्रालयहरूको कार्यसम्पादनको अनुगमन, अन्तरमन्त्रालय र विभागहरूबीच सहजीकरण तथा समन्वय नयाँ ढंगले अघि बढिरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरले बताए ।
प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै ११ वटा महाशाखा बनेका छन् । सामाजिक विकास तथा रूपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कूटनीति समन्वय महाशाखा, नतिजा व्यवस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा थपिएका छन् ।
सबै महाशाखाको नेतृत्व सहसचिवले गर्दै छन् भने पाँच जना सचिवले ती सबै महाशाखाको समग्र नेतृत्व गर्नेछन् । ‘प्रत्येक सहसचिवलाई सचिवले, प्रत्येक सचिवलाई मन्त्री र प्रत्येक मन्त्रीलाई प्रधानमन्त्रीले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले भने ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया