काठमाडौँ
पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छोडेको आज ठीक एक दशक पुगेको छ । उनले ०६५ जेठ २९ गते २ सय ४० वर्ष लामो शाहकालको अन्त्य गर्दै देशी–विदेशी सयौं पत्रकारका बीच नारायणहिटीबाट सरकारले उपलब्ध गराएको नागार्जुन दरबार सरेका थिए ।
मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुगोस् भनेर राजगद्दी त्यागेको दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेका थिए– ‘हामी नेपालीका महान पूर्वजहरूको रगत, पसिना र बलिदानले बनेको स्वतन्त्र र सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताका निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहे पनि सदा समर्पित रहने प्रण गर्दछु ।’
०६५ साल जेठ १५ गते सम्पन्न पहिलो संविधानसभाको बैठकले नेपाललाई गणतन्त्र घोषणा गर्दै तत्कालीन राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबार छाड्न १५ दिनको म्याद दिएपछि १४ औं दिन (जेठ २९ गते) उनले नारायणहिटी दरबार छोडेका थिए । अहिले विकासका बाधक मानिएको राजसंस्थाले गद्दी त्यागेको १० वर्ष बितिसक्दा समेत देशमा अपेक्षाकृत विकास हुन नसकेको भन्दै त्यस बेला राजसंस्था हटाउन महत्त्वपूर्ण योगदान दिएका नागरिक समाजका अगुवाहरूले समेत असन्तुष्टि पोख्न थालेका छन् ।
त्यस बेला नागरिक समाजबाट सडकमा ओर्लिएका डा. सुन्दरमणि दीक्षित भन्छन् – ‘राजा हटाएपछि हामीले राजनीतिक स्वतन्त्रता बाहेक अरू उपलब्धि हासिल गर्न सकेका छैनौं । सुशासनको अनुभूति गर्न पाइएको छैन ।’ ‘गणतन्त्र त आयो तर जनताले सुखसँग बाँच्ने दिन आएन । महँगी उस्तै छ, बेथिति झन् बढेर गइरहेका छन् । त्यस बेला जस्तो परिस्थिति थियो, अहिले पनि त्यस्तै छ’, उनले थपे – ‘राजतन्त्र हटाउँदा दलहरूले ‘अब जनताले सुखको स्वास फेर्न पाउँछन्’ भनेका थिए तर गणतन्त्र त नेता र कार्यकर्ताको खुसीका लागि मात्र ल्याएको जस्तो भएको छ ।’ देशको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गर्दै डा. दीक्षित भन्छन् – ‘राजा हटे पछि धैरै आशा पलाएको थियो, सबै निराशामा परिणत हुन पुगेको छ । नेता र पार्टी मात्र बने, जनताले केही पाएनन् ।’
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया