काठमाडौं
सरकारले मन्त्रालयगत विभिन्न शीर्षकमा छुट्याइएको बजेटको पुस्तक नछापेका कारण आइतबारको संसद बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । सरकारले १२ दिन अघि जेठ १५ गते आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट सार्वजनिक गरेको थियो । आइतबारका लागि प्रतिनिधिसभाको दैनिक कार्यसूचीमा ४ वटा मन्त्रालयको विनियोजन विधेयकको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यक्रम रहेको थियो ।
विशेष समयमा सांसदहरूले बोलिसकेपछि अचानक सभामुख कृष्णबहादुर महराले १ देखि ७ नम्बरसम्म रहेको कार्यसूचीको विषय हटाइएको जानकारी दिएका थिए । संसद सचिवालयले ६ दिनसम्म मन्त्रालयगत छलफल गर्ने र ३ दिनसम्म सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका थियो । दैनिक ११ बजे देखि ५ घण्टासम्म छलफल गर्ने भनिए पनि शुरूकै बैठक अघि बढ्न सकेन ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको लापरबाहीले बैठकको कार्यसूची प्रभावित भएको बताए । ‘कार्यसूचीमा आए पनि विभिन्न मन्त्रालयले विनियोजन विधेयक तयार नगर्दा समस्या भयो’, खाँडले भने– ‘यो सरकारको लापरबाही हो, यति ढिलो भइसक्दा पनि पुस्तक तयार नपार्नु ठूलो कमजोरी हो ।’ खाँडले सोमबारको बैठकमा पनि मन्त्रालयगत छलफल नहुने बताए ।
अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयलाई छुट्याएको विवरण नपठाएकाले पुस्तक छाप्न नै शुरू नगरिएको स्रोतले जनाएको छ । सबै मन्त्रालयले बेग्लाबेग्लै पुस्तक प्रकाशन गर्नेछन्, त्यहाँ योजना र खर्चको सम्पूर्ण विवरण समेटिने गर्छ । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ले सरकारले संसद्लाई बन्धक बनाएको प्रतिक्रिया दिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया