काठमाडौं

आइतवार बिहानै रत्नपार्कबाट जावलाखेलतर्फ एउटा माइक्रो हुइँकिँदै थियो । यो माइक्रोलाई थापाथलीमा हरियो गाउन लगाएका एक भलादमी व्यक्तिले रोकेर जाँच गर्न थाल्दा चालक छक्क परे । "/>

सवारीसाधनको धूवाँ जाँच्न मन्त्रीहरु नै सडकमा !

सवारीसाधनको धूवाँ जाँच्न मन्त्रीहरु नै सडकमा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आइतवार बिहानै रत्नपार्कबाट जावलाखेलतर्फ एउटा माइक्रो हुइँकिँदै थियो । यो माइक्रोलाई थापाथलीमा हरियो गाउन लगाएका एक भलादमी व्यक्तिले रोकेर जाँच गर्न थाल्दा चालक छक्क परे । यस्तैमा अर्को ट्याक्सीलाई रोक्न अर्को व्यक्ति सडकमा देखिए । थापाथली चोक एकैछिनमा जाम भयो । ती दुई व्यक्तिसँगै अन्य सरकारी अधिकारीहरू पनि सडकमा देखिए । सवारी चालक चाहिँ आफ्ना सवारी साधन रोकेर टाउको बाहिर ल्याएर हेर्दै थिए । न दुर्घटना न कुनै ट्राफिक नियमको उलङ्घन, कारण बुझ्न चालकहरूलाई हम्मे परिरहेको थियो ।

माइक्रोलाई रोक्ने गृहमन्त्री रामबहादुर थापा तथा ट्याक्सीलाई रोक्ने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत थिए । साथमा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली पनि थिए । गृहमन्त्री थापाले बा २ ख ९३५२ नम्बरको माइक्रोको सवारी प्रदूषण जाँच गरे । मापदण्ड भन्दा बढी धूवाँ फालेको मापनयन्त्रले देखाएपछि नजिकै रहेका उपत्यका ट्राफिक महाशाखाका एसएसपी वसन्त पन्तले ट्राफिक जवानलाई चिट काट्न निर्देशन दिए ।

उता मन्त्री वस्नेतले जाँच गरेको बा १ ज ४१३१ नम्बरको ट्याक्सीलाई प्रदूषण मापनयन्त्र तीन पटक लगाउँदा पनि मापदण्ड भित्रै धुँवा फालेको भेटियो । गृहमन्त्रीले जाँच गरेको सवारी साधन असफल र वन तथा वातावरण मन्त्रीले जाँच गरेको सवारी साधन प्रदूषण जाँचमा सफल भयो । सप्ताहव्यापी रूपमा विश्व वातावरण दिवस मनाउने क्रममा पहिलो चरणमा उपत्यका भित्रका सवारी प्रदूषण नियन्त्रण गर्न मन्त्रीद्वय सडकमा आएका हुन् ।

मङ्गलबार जुन ५ मा विश्व वातावरण दिवस मनाइँदैछ । उपत्यकाभित्र धूलोभन्दा पनि मानव स्वास्थ्यमा सवारी साधनबाट निस्कने प्रदूषित धूवाँ घातक हुने विभिन्न अध्ययनले देखाइरहेका बेला सवारी साधनमा जाँच गर्न थालिएको हो ।
गोरखापत्रबाट

Logo