काठमाडौं
यस वर्षको मनसुन विगतका वर्षहरू भन्दा केही अगावै शुरू हुने भएको छ । अंग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविद्हरूको आँकलन छ ।
भारतको दक्षिणी भेगका केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साता अघि शुरू भएको मनसुन भारतको मध्य भेग सम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने मौसमविद शान्ति कँडेलले बताउनुभयो । ‘सामान्यतया भारतमा मनसुन शुरू भएको ८/१० दिनमा नेपालमा मनसुन प्रवेश गर्छ तर यसपटक जुन १० अघि नै मनसुन सक्रिय हुने गतिविधि विकास भइरहेको छ ।’ –उहाँले भन्नुभयो ।
हिन्द महासागरमा विकास हुने मनसुनी गतिविधि बंगालको खाडी हुँदै दक्षिण भारतमा फैलिएर क्रमशः म्यानमार, भारतकै कलकत्ता, सिक्किम, बंगलादेश हुँदै मुलुकको पूर्वी भेगबाट भित्रिने गर्छ । नेपाल भित्रिएको मनसुन एक सातापछि क्रमशः मुलुकभर फैलिने गर्छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ले दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा मे ३० तारिखमा मनसुन शुरू हुने ‘मौसमी क्यालेन्डर’ तय गरेको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया