मुगु
मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर १ डोल्फु र वडा नम्बर २ मुगु गाउँका विभिन्न पाटन क्षेत्रमा पाईने यार्सागुम्बा संकलनका लागि वन प्रवेश शुल्क बापत ६१ लाख राजश्व संकलन भएको छ ।
यार्सा संकलन गर्न वनमा प्रवेश गर्न जाने संकलकहरुबाट जेठ २ गते बाट प्रवेश शुल्क उठाएर जेठ ६ गते वन प्रवेश गराईएको थियो । जिल्ला भित्रका संकलकहरुबाट पन्ध्र सय र जिल्ला बाहिरका संकलकबाट दुई हजार शुल्क निर्धारण गरिएको थियो । वन प्रबेश शुल्कबाट ६१ लाख ९२ हजार राजश्व संकलन भएको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कार्मा तामाङ्गले जानकारी दिए ।
संकलन भएको राजश्व मध्य गाउँपालिकालाई १७ लाख ४५ हजार १ सय, वडालाई २३ लाख २६ हजार ८ सय , स्थानीय सहयोग समितिलाई ३ लाख ७५ हजार र विविध खर्च १७ लाख ४५ हजार १ सय रहेको वडाध्यक्ष तामाङ्गले बताए ।
यार्सा संकलनका लागि काखे नानी सहित मुगु, डोल्फु, चिताई, कार्ती, किम्री, दाउरा, सेरोग, ताखा, खारी, पुअ, रिउस मह, माँग्रीका स्थानीयहरु हिमाल तिर गए पछि यि गाउँका विद्यालयहरु बन्द भएका छन् । एक महिना हिमालमा गए पछि एक जनाले न्युनतम डेढ लाख देखि तीन लाखसम्म कमाई गर्ने भएकाले पनि अभिभावकले काखे नानी सहित बालबालिकालाई हिमालमा लिने गर्दछन् । मुगुका छापा खोला , च्यार्कु, भावर खोला, टाँके , सानो कोईकी, ठुलो कोईकी , हाङ्गदाङ्ग खोला, रिमार लगायतका हिमाली पाटन क्षेत्रमा यार्सा पाईने गर्छ ।
नागरिकबाट































प्रतिक्रिया