काठमाडौं
सरकारले औषधि खरिदका लागि चालू आर्थिक वर्षमा कुल १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम मध्ये ७० प्रतिशत केन्द्र, २० प्रतिशत जिल्ला र १० प्रतिशत क्षेत्रबाट औषधिमा खर्च हुँदै आएको छ ।
तर सरकारले निःशुल्क उपलब्ध गराउने भनेका अधिकांश औषधि किन्नै सकेको छैन । खरिद प्रक्रियामा टेन्डर नै परेको छैन । सरकारले ७० प्रकारका औषधिको १०४ डोजेज फम निःशुल्क उपलब्ध गराउने भने पनि ४३ औषधिको ४४ डोजेज फम खरिद नै हुन नसकेको हो । सरकार आफैँसँग नभएपछि स्वास्थ्य संस्थामा निःशुल्क औषधि अभाव छ ।
औषधिको मात्रालाई डोजेज फम भनिन्छ । एउटै औषधिका विभिन्न डोज हुन्छन् । जस्तै ज्वरो कम गराउन सेवन गरिने एउटै एन्टिबायोटिक ट्याब्लेट, झोल र इन्जेक्सन विभिन्न मात्रामा उपलब्ध हुन्छ । सरकारले ७० प्रकारका औषधिको १०४ डोजेज फम निःशुल्क वितरण गर्ने भनेको छ । तर ४३ औषधिको ४४ डोजेज फम खरिद नै गर्न सकेको छैन ।
अभाव भएका औषधिमा इन्जेक्सन र मलम बढी छन् । ४३ औषधिको ४४ डोजेज फम खरिद नहुँदा चालू आर्थिक वर्षको सुरुदेखि नै अभाव देखिएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था महाशाखाले जनाएको छ । महाशाखाका उपसचिव बाबुराम लामिछानेका अनुसार ७० प्रकारकै औषधि एउटै स्वास्थ्य संस्थामा निःशुल्क पाउन सक्ने अवस्था छैन । ‘सरकारले वितरण गर्ने निःशुल्क औषधि सबै सरकारी स्वास्थ्य संस्थामा पाइन्छ, तर ७० प्रकारकै औषधि भने कुनै पनि स्वास्थ्य संस्थामा उपलब्ध छैन,’ लामिछानेले भने ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया