बनेपा
घातक रोग रानीखेत (न्युक्यासल डिजिज) बाट कुखुरालाई बचाउने उद्देश्यले मुलुकमै फरक खालको भ्याक्सिन उत्पादन गर्ने उद्योग स्थापना भएको छ । गाउँघरमा पालिने स्थानीय (लोकल) कुखुरालाई लक्षित गर्दै बायोभ्याक प्रालिले यस्तो भ्याक्सिन उत्पादन गर्न लागेको हो ।
कम्पनीले बनेपा नगरपालिका, थापागाउँमा पशुपक्षीको भ्याक्सिनको अनुसन्धान तथा उत्पादनका लागि काम अघि बढाएको हो । ‘हाल न्युक्यासल डिजिज र एभियन इन्फ्लुएन्जामा विभिन्न अनुसन्धानको थालनी हुनेछ,’ परियोजनाका प्रबन्धक डा. रुपेन्द्र चौंलागाईंले भने, ‘यसैमा आधारित भएर थर्मोस्टेबल न्युक्यासल डिजिज भ्याक्सिन उत्पादन गर्नेछौं ।
नेपालमा रानीखेतको भ्याक्सिन भारत लगायत तेस्रो मुलुकबाट आयातित भई व्यवसायिक ब्रोइलर र लेयर्स पालनमा प्रयोग हुँदै आएको छ । त्यस्तै सरकारको केन्द्रीय जैविकी उत्पादन प्रयोगशालाले समेत रानीखेत भ्याक्सिन उत्पादन र वितरण गर्दै आएको छ ।
‘नेपालमा बनेका र आयातित रानीखेत रोगको भ्याक्सिन सबै सय डोज भन्दा कम्तीको साइजमा उपलब्ध छैन । गाउँघरमा थोरै संख्यामा कुखुरा पाल्दै आएका किसानलाई यस्तो प्याक साइज महँगो पर्नुका साथै लगाएर बाँकी हुने भ्याक्सिन फ्याँक्नुको विकल्प नभएको अवस्था छ,’ चौंलागाईंले भने ।
नागरिकबाट
प्रतिक्रिया