काठमाडौँ
चालू आर्थिक वर्षको नौ महिना सम्ममा कुल वस्तु निर्यात ८ दशमलव २ प्रतिशतले वृद्धि भई ५९ अर्ब ७४ करोड रुपियाँ पुगेको छ । नेपाल राष्ट्रबैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ६ दशमलव ९ प्रतिशत, चीनतर्फ ५८ दशमलव ९ प्रतिशत र अन्य मुलुकतर्फ ७ दशमलव १ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलैंची, धागो, पोलिस्टर यार्न, अदुवा, तार लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, जीआई पाइप, ऊन गलैंचा, पस्मिना लगायतका वस्तुको निर्यात घटेको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात २० दशमलव ६ प्रतिशतले बढेर ८७६ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३९ दशमलव ७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २१ दशमलव ९ प्रतिशत, चीनबाट भएको आयात २२ दशमलव ८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १५ दशमलव ७ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, हटरोल सिटइन क्वाइल, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपूर्जा, हवाईजहाजका पार्टपूर्जा, सेनिटरीवेयर्स, सानो अलैंची, जिंक इनगोट, लगायतका वस्तुको आयात घटेको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया