कतारमा मास्क नलगाउने र होम क्वारेन्टाइनको नियम उल्लङ्घन गर्नेहरू धमाधम पक्राउ पर्दै

कतारमा मास्क नलगाउने र होम क्वारेन्टाइनको नियम उल्लङ्घन गर्नेहरू धमाधम पक्राउ पर्दै


दोहा कतार।

कतारमा सार्वजनिक स्थानमा मास्क नलगाई हिँड्ने, सवारी साधनमा तोकिए भन्दा बढीले यात्रा गर्ने तथा होम क्वारेन्टाइनको नियम उल्लङ्घन गर्ने नागरिकहरू धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लो एक हप्तामा मात्र मास्क नलगाई हिँड्ने ५५० जना नागरिकहरू पक्राउ परिसकेका छन् भने आइतबार मात्र १३० जनालाई पक्राउ गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

निजी सवारी साधनमा परिवार बाहेकको अवस्थामा चालक सहित ४ जना भन्दा बढी चढ्न नपाइने नियमको उल्लङ्घन गर्ने थप ५ जनासहित २८ जना पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरूलाई सङ्क्रमण रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय १९९० अनुसार कानुन नं. १७ बमोजिम भाइरस नियन्त्रणमा असहयोग गरेको तथा सावधानीका नियम उल्लङ्घन गरेको कसुरमा ३ वर्ष जेल सजायँ वा २ लाख कतारी रियालसम्म जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ ।

सरकारले कोरोना सङ्क्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका पालना गर्न बारम्बार आग्रह गरे पनि क्वारेन्टाइनको नियम उल्लङ्घन गर्ने थप २ जनालाई पक्राउ गरेको छ । होम क्वारेन्टाइन बस्ने लिखित प्रतिबद्धता जनाएर नियम उल्लङ्घन गर्नेलाई २०१४ को कानुन नम्बर ११ को धारा २५३ , १९९० को कानुन नम्बर १७ र २००२ को कानुन नम्बर १७ बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ । पक्राउ परेका सबै नागरिकहरूको राष्ट्रियता भने खुलाइएको छैन ।

Logo