पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्न

पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्न

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह बुधबार ‘नेपाल आर्मी स्पोर्ट्स कम्प्लेक्स’को प्राङ्गणमा सम्पन्न भएको छ।

समारोहमा विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गरेका कूल ४८५ विद्यार्थीहरुलाई दिक्षीत गरिएको थियो। दिक्षीत हुनेमा एमबीबीएस, एमएस, एडी, एमपीएच, बीएससी, बीएनएस जस्ता विषय उत्तीर्ण गरेका विद्यार्थीहरु थिए।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति पुष्पकमल दाहालले भने, “स्वास्थ्य सेवामा नवीनतम विकास, विशेष गरी चिकित्सा मानविकी जस्ता विषयहरूको समावेशीतालाई प्राथमिकतामा राखेर स्वास्थ्य विकासको पहलको अवधारणालाई अघि सारेकोमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस अवधारणाले दक्षता संगै करुणा भएका स्वास्थ्यकर्मीहरू उत्पादन गर्दछ जो समुदाय भित्र प्रभावकारी र गुणस्तरीय काम गर्न अब्बल हुन्छन्। प्रतिष्ठानले ग्रामीण नेपालका मानिसहरूलाई हेरचाह गर्न गरिरहेको कामको पनि प्रशंसनीय छ। अप्रत्यासित चुनौतीहरुको सामना गर्न हामी सँधै तयार रहनुपर्छ भन्ने कुरा हामीले कोभिड महामारीबाट सिकिसकेका छौँ। यसका लागि सार्वजनिक क्षेत्रका स्वास्थ्य संस्थालाई सुदृढ गर्न जरुरी छ। देशको ठूलो हिस्सा अझै पनि ग्रामीण छ र यी क्षेत्रहरूमा स्वास्थ्य सेवा विस्तार उच्च प्राथमिकतामा छ। सरकारले देशभरका अस्पतालहरूको भौतिक पूर्वाधार सुधार गर्न काम गरिरहेको छ र गुरुयोजना बमोजिमको नयाँ भवन निर्माणको काम अघि बढ्ने विश्वास दिलाउन चाहन्छु।”

त्यसैगरी दीक्षान्त समारोहका प्रमुख अतिथि तथा वक्ता, नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले भने, “प्रतिष्ठानले सामुदायीक सहकार्य तथा स्वास्थ मानविकी शिक्षा मार्फत अब्बल स्वास्थ्यकर्मीहरु उत्पादन गर्न गरेको पहल प्रशंसनीय छ। यस प्रतिष्ठानले गरेका महान कार्यबाट विश्वले सिक्न सक्छ र सिक्नुपर्छ। कृतज्ञताको भावना महसुस गर्नु अत्यन्त महत्त्वपूर्ण छ र त्यसैले म सबै विद्यार्थीहरूलाई आफ्नो देशको, आमाबाबु र परिवारहरूको सेवा गर्न आग्रह गर्दछु। हामी सबैले यस संसारलाई अझ राम्रो र अझ न्यायपूर्ण ठाउँ बनाउनको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्न सकेको काम गर्नपर्छ।”

सत्यार्थीलाई बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्नको लागि उनले देखाएका अटल प्रतिबद्धताको लागि सन २०१४मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

उनले “बचपन बचाओ आन्दोलन” मार्फत १,१५,००० भन्दा बढी बालबालिकालाई बालश्रम, दासत्व, बेचबिखन र अन्य प्रकारका शोषणबाट मुक्त गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् र उनीहरुको शिक्षा, पुनःस्थापना र समाजमा पुनः एकीकरणको सफल नमुना विकास गरेका छन्। यी बालबालिकाहरुमध्ये धेरै नेपाली थिए।

उनको नेतृत्वमा सुरु भएको वल्र्ड मार्च अगेन्स्ट चाइल्ड लेबर अभियानले १०३ देशहरुको समर्थन प्राप्त गर्दै बालश्रमको खराब रुपको बारेमा आईएलओ महासन्धि १८२को अवलम्बन गरियो। पछि यो आईएलओको एक मात्र विश्वव्यापी रुपमा अनुमोदन भएको महासन्धि हुन पुग्यो।

सत्यार्थी मूभमेन्ट फर ग्लोबल कम्प्यासन द्वारा उनले सामाजिक सुधारको क्षेत्रमा एक अतुलनीय योगदान प्रदान गरका थिए।

त्यसैगरी उपकुलपति डा राजेश नाथ गोन्गलले भने, “प्रतिष्ठानको सम्पूर्ण शैक्षिक संस्थाहरुले उल्लेखनीय उपलब्धि हासिल गरेका छन् र तीनवटै शैक्षिक संस्थाको पाठ्यक्रम प्रतिष्ठानको मिशनसँग मेल खाने गरी विकास गरिएको छ। पाटन अस्पतालको पनि उल्लेख्नीय प्रगती गरेको छ र र यस महत्वपूर्ण उपलब्धिको लागि म समपूर्ण दिक्षीत विद्यार्थीहरुलाई बधाई दिन चाहन्छु। विदेशमा बसोबास गर्ने विद्यार्र्थीहरुलाई पनि आफ्नो घर फर्केर आउन अनुरोध गर्न चाहन्छु किनकि आफ्नो देशको सेवा गर्नुभन्दा ठूलो सम्मान अरू केही छैन, आफ्ना जनताको सेवा गर्नुभन्दा ठूलो सुअवसर केही छैन र आवश्यकताको समयमा आमाबुवाको सेवा गर्नुभन्दा जीवनमा ठूलो आनन्द छैन।”

Logo