पोखरा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा मुुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भएपछि त्यसको तयारी सुरु भएको छ । वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदैछन् । जनकपुर हुँदै हेलिकोप्टरमा मुक्तिनाथ मन्दिर पुगेर दर्शन गर्ने अहिले सम्मको तालिका रहेको स्थानीय प्रशासनले बताएको छ ।
भारतीय प्रधानमन्त्रीको भ्रमणलाई व्यवस्थित बनाउन तयारी गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताएका छन् । उनका अनुसार मोदी दर्शन गर्न जाने मुक्तिनाथ मन्दिर परिसर अहिले धमाधम सरसफाई गरिएको छ । त्यस्तै मोदी सवार हेलिकोप्टर अवतरणका लागि पनि व्यवस्था मिलाइएको छ ।
‘मन्दिर परिसर सरसफाई गरेर सजाइएको छ,’ उनले भने, ‘त्यस बाहेक हेलिकोप्टर अवतरण गर्नका लागि पनि व्यवस्था भईसकेको छ ।’ प्रजिअ पौडेलका अनुुसार मुक्तिनाथ मन्दिर अन्नपुर्ण फेरोको पदमार्गमा पर्ने भएकोले पदयात्रीको आउजाउमा पनि कडाई गरिनेछ । उनका अनुसार मनाङ हुँदै थोराङला भञ्ज्याङ पार गरेर मुक्तिनाथ ओर्लिने पदयात्रीलाई मोदी भ्रमणको तीन दिन अघि देखि पदयात्रामा रोक लगाउने तयारी छ ।
‘मनाङ प्रशासनसँग समन्वय गरेर तीन दिन अगाडी नै थोराङला पास पार गरेर मुक्तिनाथ ओर्लिने पदयात्रीलाई पदयात्रामा रोक लगाउने तयारी छ,’ उनले भने, ‘पदयात्रीलाई तीन दिन सम्म मनाङको चामे वा मनाङ गाउँमै रोक्न सकिन्छ । त्यसका लागि मनाङ प्रशासनसँग समन्वय गर्नेछौं ।’ थोराङला भञ्ज्याङ पार गरेर ओर्लिएका पदयात्री मुक्तिनाथ मन्दिर परिसरमै पुग्ने भएकोले आउजाउमा रोक लगाउने तयारी भएको उनले बताए । त्यसबाहेक मोदी भ्रमणका दिन मन्दिर परिसरमा अरुलाइ प्रवेश गर्न नदिने तयारी पनि छ । प्रजिअ पौडेलले आन्तरिक रुपमा योजना बनाएपनि अहिलेसम्म आधिकारिक रुपमा तयारी गर्न प्रशासनलाई जानकारी आएको छैन ।
नागरिकबाट





























प्रतिक्रिया