कपिलवस्तु
जब बुहारी अन्माएर बिदा गरे, पूर्वशिक्षक श्याम गुप्ताको मुहारमा थोरै न्यास्रोपन र धेरै चमक देखियो । एक दशक छोरीसरह माया गरेकी बुहारी बिदा गर्दाको उदासी एकातिर, अर्कातिर एकल महिलालाई खुसी दिँदाको हर्षविभोरता गुप्तामा देखिन्थ्यो ।
१७ वैशाखमा गुप्ताले आफ्नी बुहारी किरणको बिहे गरिदिए । कपिलवस्तुको शिवराज नगरपालिका–५ का गुप्ताले बुहारीका लागि खुसीको ढोका मात्र खोलेका थिएनन्, समुदायमा एउटा नयाँ सामाजिक क्रान्तिको पनि थालनी गरेका थिए । ‘छोराले अल्पायुमै छाडेर गयो । हाम्रो भरोसा टुट्यो । तर किरणको त भविष्य नै अन्धकार देखेपछि हामीले उनको बिहे गरिदिने निधो ग¥यौं,’ उनले भने ।
२९ वर्षीय किरणको लगनगाँठो भारतको नौगढका डा सुशान्तकुमार जयसवालसँग कसिदिएका गुप्ता थप्छन्, ‘हाम्रो समाजमा पत्नीको निधन हुनासाथ अर्को बिहे गर्ने पुरुष छन् । तर पतिको निधन हुँदा पीडा खेप्ने महिलाको व्यथा कसले बुझ्ने ? यही बुझेर सल्लाहमा बिहे गरिदिएका हौं ।’ ७ वर्ष अघि सवारी दुर्घटनामा गुप्ताका जेठा छोरा अमितराजको निधन भएको थियो । बुहारीको बिहे गरिदिँदा समाजका नानाथरी कुरा सुन्नु पर्ने चुनौती गुप्तालाई थाहा थियो । उनी भन्छन्, ‘मन त सबैको उस्तै हो नि, यही भावनालाई बुझेर बुहारीको बिहे गरिदिने निर्णयमा पुग्यौं ।’
बुहारीलाई छोरीसरह बिहे गर्नुको अर्को कारण सामाजिक रूपान्तरणको अभियान समेत रहेको उनी खुलाउँछन् । उनी आफैं लामो समय शिक्षण पेसामा रहेर सामाजिक परिवर्तनका पाठ धेरैलाई पढाए । ‘जे जानेको थिएँ, त्यसलाई व्यवहारमा उतार्नु पनि मेरो कर्तव्य हो,’ उनी थप्छन् । गुप्ताले ३७ वर्ष अध्यापन गरेका थिए ।
किरणकी आठ वर्षीया छोरी छिन् । गुप्ता परिवारले बुहारी र नातिनीका नाममा अंश समेत दिएका छन् । मञ्जुलता भन्छिन्, ‘नयाँ जोडीको खुसी नै हाम्रो पनि खुसी हो ।’
राजधानीबाट































प्रतिक्रिया