धरान
करिब दुई बर्ष अघि धरानको प्रमुख ९ वटा पर्यटकीय गन्तव्यको रुपमा छनौट गरिएको नाइन पोइन्टमा पर्यटकहरुलाई घुमाउन लेडिज स्कर्ट तयार गरिएको छ । पर्यटनको क्षेत्रमा सक्रिय सेक्ष ट्राभलिङ तथा होटल सेक्षले नयाँ प्रयोगको रुपमा ६ जना युवतीलाई स्कर्टको रुपमा तयार गरेको हो । ती युवतीहरुले स्कुटरमा इञ्छुक पर्यटकलाई नाइन पोइन्टमा घुमाउन लैजानेछन् । पर्यटनको भाषामा यसलाई स्कर्ट भनिन्छ ।
‘गाइड फरक फरक खालको हुन्छ, हामीले स्कर्ट गाइड तयार गरेको हौं,’ सेक्ष ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगरले भनिन्, ‘यो एक पर्यटक एक गाइडको अवधारणा हो, पर्यटकलाई स्कर्टिङ गर्दै स्कुटरमा गन्तव्यस्थलमा घुमाउने हो ।’ सामान्यतया पर्यटन क्षेत्रमा १५ जना बराबर एक गाइड उपलब्ध गराउने चलन छ । तर सेक्षले भने नयाँ प्रयोगको रुपमा एक पर्यटक, एक गाइडको अवधारणा अघि सारेको छ ।
धरानका पर्यटनकर्मी तथा सरोकारवालाहरुको वृहत छलफल पछि २ बर्ष अघि पर्यटकलाई घुमाउन नाइन पोइन्ट छनौट गरिएको थियो । जसमा विजयपुर गढीस्थित बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली, बीपी प्रतिष्ठान, निर्वाणा गल्फ कोर्ष, शनि मन्दिर, गीता मन्दिर, घण्टाघर र स्कोन मन्दिर पर्छन् । धरानको पर्यटनको प्रडक्टको रुपमा प्रचार गरिए पनि यहाँका पर्यटनकर्मीहरुले प्याकेजको रुपमा यी स्थानहरुको प्रर्वद्धन भने गर्न सकेनन् ।
गाइडको रुपमा तालिम लिएका ६ युवतीहरुले अब पर्यटकहरुलाई स्कुटरमा राखेर ती नाइन पोइन्टमा घुमाउने छन् । यसवापत पर्यटकले मात्र एक हजार शुल्क तिर्नु पर्नेछ । ‘धरानको पर्यटनको सशक्त पक्ष वा प्रडक्ट भनेको धार्मिक पर्यटन हो, यहाँका पौराणिक कथा हो । त्यस्तै धरानले ग्लामर सिटिको पहिचान कमाएको छ,’ सेक्ष सम्बद्ध पर्यटनकर्मी वासुदेव वरालले भने, ‘हामीले यो दुईटैलाई धरानको पर्यटनमा फ्युजन गरेर नयाँ प्रडक्ट बनाउन खोजेका हौं ।’
नागरिकबाट





























प्रतिक्रिया