काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आमाका सपूत एवं अमरज्योति शान्तिका अग्रदूत बुद्धको दुई हजार ५६२ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बी लगायत शाक्यमुनि बुद्धले दिएको शान्ति, अहिंसा, मेलमिलाप र करुणा भावनाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावमा शुभकाना व्यक्त गरेकी छिन् ।
आज दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सदृढ एवं सबल बनाउने अभियानमा शान्तिदूत बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि प्रेरणादायी रहेको उल्लेख गरेकी छिन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बुद्धजयन्ती तथा किराँत समुदायको प्रमुख चाड उभौली पर्वका अवसरमा देशविदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइ र विश्वभरका बुद्ध धर्मावलम्वी तथा किराँत समुदायमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।
बौद्ध दर्शनलाई आत्मसात् गर्दै अगाडि बढ्न सकेमा हामीभित्र आन्तरिक शान्ति तथा भ्रातृत्व भाव आउनाका साथै आर्थिक समृद्धि, सामाजिक विकास एवं दिगो शान्ति र सुशासनतर्फ उन्मुख सबैबीच एकता, सहिष्णुता र सद्भाव कायम हुन सजिलो हुने उनले उल्लेख गरेका छन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । २५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताएका छन् ।
रासस





























प्रतिक्रिया