काठमाडौं
कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको पर्चाका कारण आफू माथि आरोप लागेपछि पौडेलले त्यसको बचाउ गर्दै नेतृत्वको आलोचना गरेका हुन् ।
‘महादेव भोगी भएनन् त्यागी भए र पूजा हुन्छ,’ शुक्रबार बैठकमा डेढ घन्टा बोलेका पौडेलले भने, ‘तपाईं (शेरबहादुर जी) चारपटक प्रधानमन्त्री हुनु भयो । तर त्यागमा लाग्नु भएन भोगी हुनुभयो । त्यसैले चारपटक प्रधानमन्त्री हुनुभयो भनेर तपाईंको पूजा गर्न सकिँदैन ।’ त्याग भन्दा भोगको राजनीतिमा लागेकाले आफूले गिनिज बुकमा नाम लेखाउन भनेको दलिल पेस गर्दै उनले आफूले पहिले लगाएको आरोपको बचाउ गरे ।
जिम्मेवार नेताले मर्यादा भुल्दै अराजनीतिक गाली गरेर पार्टीलाई नै बदनाम गरेको भन्दै नेता विमलेन्द्र निधि, डा. प्रकाशशरण महत सहितका नेताले दुई दिन अघिको बैठकमा पौडेलको प्रस्तावको आलोचना गरेका थिए । तर शुक्रबार जवाफ दिने क्रममा पौडेलले चारपटक प्रधानमन्त्री भए पनि देउवाको पूजा हुँदैन, तर एकपटक पनि प्रधानमन्त्री नभएका गणेशमान सिंहलाई सबैले पुज्ने गरेको बताएका थिए ।
पौडेलले समीक्षा बैठक सुरु हुनु पूर्वकै बैठकमा सभापति माथि गुटको मात्र नेता बनेको, विधान मिचेको, नैतिक शब्दकै अर्थान्तर गरेको, शेरबहादुर जिन्दावाद भन्न सिकाएको, तर कांग्रेस जिन्दावाद भन्न नसिकाएको, सभापतिको कमजोर अवस्थाले देशभर कांग्रेसलाई खुट्टा राख्ने ठाउँ समेत नभएको जस्ता आरोपले भरिएको पर्चा बाँडेका थिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया