ध्रुवे हात्ती फेरी मात्तियोः पाँच घर ध्वस्त !

ध्रुवे हात्ती फेरी मात्तियोः पाँच घर ध्वस्त !

केन्द्रबिन्दु
0
Shares

चितवन,
मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजे देखि साँझ ६ बजे सम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए । उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गएराति ११ बजेको समयमा हात्तीले घर भत्काएको हो । धुर्वे हात्तीले भरतपुर महानगरपालिका– २३ खड्गौलीमा रामबहादुर दरै, शान्तकुमार दरै, बुद्धिराम दरै, मायाराम दरै र मगरा दरैको घर भत्काएको हो । अर्यालका अनुसार गएराति घर भत्काउन थालेपछि सुरक्षा निकायको सहयोगमा हात्ती धपाइएको थियो । धुर्वे हात्ती केही दिन यता कसरा र सुखीभार क्षेत्रमा पोथी हात्तीसँगै बस्दै आएको थियो ।

विगत केही वर्षयता नेपाल र भारतमा गरी १५ जनाको ज्यान लिएको ध्रुवे हात्ती केही दिन अघि शुक्रनगर क्षेत्रमा पसेपछि निकुञ्जले लखेटेको थियो । दुई वर्ष अघि निकै मातेर आतंक फैलाएको ध्रुवे यतिबेला पुनः मात्तिन थालेको हो । हात्तीका कारण पूर्णरुपमा क्षति भएका घर र अन्नबालीको तत्काल उचित क्षतिपूर्ति पाउनु पर्ने पीडितहरुले माग गरेका छन् ।
रासस

Skip This
Skip This
Logo