दिवस गुरागाईं
“नेतृत्व सुस्त भयो ।” नेपाली कांग्रेसका तीन कोइराला नेताहरु शशांक, शेखर र सुजाताले केही समयअघि एकै स्वरमा भनेको गहन हरफ हो यो । झट्ट सुन्दा सामान्य लागेपनि यो बोली कांग्रेस संस्थापन माथिको प्रत्यक्ष धावा हो । सँगसँगै बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्व नस्वीकारेर आपूmहरु मध्येकै एकजना अघि बढ्ने संकेत पनि हो तीन कोइरालाको संयुक्त स्वर ।
“गुटबन्दीले पार्टी कमजोर भयो ।” हम्मेसी कहिल्यै सँगै नउभिने यी तीन कोइराला नेताहरुले गुटबन्दीको विरुद्धमा बोलेर संस्थापन र पौडेल पक्ष भन्ने गुटगत बुझिने शब्दमा प्रहार गरे । यी तीन एक भएर अघि बढ्ने संकेत गर्नुको मतलव पनि परम्परागत गुट नमान्ने संदेश छर्नु नै हो । सँग–सँगै अव कोइरालाहरुको नयाँ क्याम्प वनाउने उद्घोषा पनि मान्नुपर्छ यसलाई । किनभने यी तीनको यो जम्काभेट नभएर प्रायोजित भेटघाट नै थियो ।
पार्टी संस्थापनलाई च्यालेञ्ज गर्ने यी तीन कोइराला नेताहरु एक भएभने नेपाली कांग्रेसमा के हुन्छ ? यी नेताहरु पार्टी र जनमानसमा कति प्रिय छन् ? के यी आशाका केन्द्र हुन् कांग्रेसभित्रका ? सायद अहिलेको मूख्य प्रश्न यिनै हुन् कांग्रेसबृत्तमा ।
यी नेताको समान पक्ष के हो भने यी तीनै जना कोइराला हुन् । कोइरालामा पनि उनीहरु कृष्णप्रसाद कोइरालाका नाती–नातिनी हुन् । शशांक वीपी पुत्र । शेखर वीपीका भाइ बुहारी केशव र नोना पुत्र । त्यसैगरी वीपीका कान्छा भाइ गिरिजाप्रसादकी एकमात्र छोरी हुन् सुजाता । यी तीनै जना उमेरले ६० कटिसकेका छन् । जागिरमा हुन्थ्यो भने उनीहरु “रिटायर्ड” भइसकेका हुन्थे । तर, उनीहरु “वार्मअप” गरेझैं प्रदर्शीत भएका छन् ।
शशांक, शेखर र सुजाता निर्वाचित केन्द्रीय नेता हुन् पार्टीका । यी तीन नेताका धेरै कमजोरी रहेको विश्लेषकहरु वताउँछन् । कार्यकर्ताको पहुँचमा नआउनु उनीहरु तीनै जनाको कमजोर पक्ष हो । स्पष्ट भिजनको अभावका कारण उनीहरु आम नेताभन्दा फरक लाग्दैनन् ।
यी तीन जना कसरी मिल्न सक्छन् भविश्यमा ? यस सम्बन्धमा भने सायद उनै तीनजनाले पनि सोचिसकेका छैनन् । पार्टी सभापति र संसदीय दलको नेता दुई शीर्ष पद हुन् पार्टीले लिने । महामन्त्री र उपसभापति त दोस्रो तहको पद हो । त्यसकारण तीनजनाले कसरी दुई पदमा सहमती गर्लान् ? यो पनि अफ्टेरो विषय हो, भागबण्डामा ।
यी तीन एक ढिक्का भएभने पार्टी सभापति शेरबहादुर देउवाको हालत कस्तो हुन्छ त्यता नसोचौं । रामचन्द्र पौडेलको भने यी तीन नेताको मिलनले भविश्य नै धुमिल हुने निश्चित हुन्छ । जे होस् जसरी भएपनि यिनको एकता भयो भने कांग्रेस भित्रको आगामी शक्ति संतुलनमा भने परिवर्तन आउने निश्चित प्रायः छ ।
को कति पानीमा ?
शशांक
नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि सशांकको संभावना नियाल्न थालिएको हो । समाकालीन नेताहरुमा धेरै संभावना भएको अर्को नेता नदेखिएकाले सवैका आँखा उनैमा पर्न थालेको छ ।
वीपी पुत्र हुनु उनको प्लस प्वाइन्ट हो । निर्वाचित महामन्त्री भएपछि कार्यकर्ता माझ उनी प्रिय छन् भनेर बुझ्न गार्हो छैन । सालिन र भद्रता उनको महान पक्ष हो ।
तर, शशांक कमजोर संगठक हुन् । उनको अल्छीपनको चर्चा नेपाली कांग्रेसभित्र अक्सर भइरहन्छ । उनका अन्यखाले कमजोरी पनि छन् ।
बेलाबेला उनले ब्यक्त गरेका विचार सुनेर भन्ने हो भने उनी राजनीति दृष्टिकोण नभएका नेता जस्ता लाग्छन् । खासगरी अदालत र हिन्दु धर्मका सम्बन्धमा उनले राखेका विचार विवादीत भएका छन् । उनी विचार गरेर बोल्दैनन् भन्ने आरोपलाई ब्यवहारले खण्डन गर्न सकेका छैन ।
शेखर
नेपाली राजनीतिको नाडी राम्रोसँग छामेर बस्ने नेतामा शेखरको नाम अग्रपंक्तिमा आउँछ । उनको यस्तो खुवीको जस पूर्व सभापति गिरिजाप्रसाद कोइरालाई दिने गरिन्छ । किनभने शेखरले लोमो समय गिरिजाप्रसादको संगत गरेका छन् ।
उनी कोइराला हुनुलाई पनि कांग्रेसभित्र प्लसप्वाइन्ट मानिन्छ । उनले कोइराला खान्दानको विरासत थाम्ने हैसियत राख्छन् । उनी वीपीका भाइ केशवका छोरा हुन् । लामो समय नेपाली कांग्रेस नेतृत्वको शक्तिशाली किचनक्याबिनेट चलाउने मध्येकी नोना पुत्र हुन् उनी ।
शेखरको भारतीय पक्षसँग सुमधुर सम्बन्ध रहेको कुरा पार्टी भित्र पनि उठिरहन्छ । कतिपयले यसलाई सकारात्मक पक्ष भन्छन् । त्यो भन्दा पनि उनी राजनीतिक विश्लेषणमा माहिर मानिन्छन् । उनलाई नजिकवाट जान्नेहरु भन्छन् “शेखर दुरदर्शी नेता हुन् ।” तर टर्रो स्वभाव र कार्यकर्तालाई नजिक राख्न नसक्ने भनेर पनि उनको कुरा काट्ने गरिन्छ ।
सुजाता
गिरिजा पुत्री भएका कारण नै सुजाताले राजनीतिक उचाई लिन सफल भएको आम विश्लेषण छ । आजसम्मका उनका राजनीतिक “मुभ” ले पनि यही भन्छ । अर्को कुरा उनी महिला हुन् । नेपाली कांग्रेसमा उनको जत्तिको उचाइ भएका महिला नेतृ नहुनु पनि सुजाताको प्लस प्वाइन्ट हो ।
खर्च गर्न र बोल्न नडराउने सुजातालाई उपप्रधान तथा परराष्ट्र मन्न्त्रालय सम्हालेको अनुभव छ । कार्यकर्ताको मन जित्न उनी सफल हुँदै आएको पनि पार्टी भित्र चर्चा हुनेगर्छ । उनको धेरै जिल्लाका कार्यकर्तामा पकड रहेको विश्लेषण गर्नेहरु पनि छन् ।
जिल्ला सदरमुकामका चुल्ठे–मुन्द्रेहरुलाई संरक्षण गरेको आरोप छ, उनीमाथि । तर निर्वाचनमा पटक–पटक पराजय भोगेको तीतो अनुभव छ उनीसँग ।
तीन जनाका तीन गुण
शशांक – १. वीपी पुत्र, २. निर्वाचित महामन्त्री, ३. सालिन र भद्र
शेखर – १. कोइराला खानदानका सदस्य, २. भारतीय पक्षसँग सुमधुर सम्बन्ध, ३. विश्लेषक र दुरदर्शी
सुजाता– १. गिरिजा पुत्री, २. महिला, ३. खर्च गर्न सक्ने





























प्रतिक्रिया