काठमाडौँ
सदरखोर डिल्लिबजारमा माओवादी पूर्वसांसद बालकृष्ण ढुंगेल गीत लेखनमा व्यस्त छन् । थोरै बिरामी, धेरै सिर्जनशील बन्न थालेका उनी राजनीतिक मिजासमा कडा छन् । ६ महिना अघि उनी सातदोबाटोबाट पक्राउ परेका थिए । युद्धकालमा रामेछापका उज्जनकुमार श्रेष्ठको ओखलढुंगामा भएको हत्याका हत्यारा साबित गर्दै उनलाई आजीवन कारावासको सजायँ सुनाइएको थियो तर उनी फरार थिए । राजनीतिक संरक्षणमा खुलेआम हिँडे पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।
सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश र पूर्वप्रधानन्याधीशको पिँडुलाको मासु समेत छिल्न सकिने अभिव्यक्ति दिएपछि सर्वोच्च अदालत उनी माथि आक्रामक भयो र आदेश दियो– सात दिन भित्र बालकृष्ण ढुंगेललाई पक्राउ गर्नू । १४ कात्तिक २०७४ मा प्रहरीले उनलाई पक्राउ ग¥यो । मंसिरको निर्वाचनपछि बहुमतमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री हुना साथ माओवादी नेता रामबहादुर थापा सदरखोर गए । उनलाई बालकृष्णको पहिलो सुझाव थियो– जसरी पनि यहाँबाट निकाल्नुहोस्, बिरामी छु, औषधि समयमा खान पाएको छैन, खानाको राम्रो प्रबन्ध छैन । बालकृष्ण डाइबिटिज र मुटुका रोगी छन् ।
नियमित औषधि प्रयोग गर्छन् । बालकृष्णको यो आग्रह अब युद्धकालको घटनासँग मात्र होइन, एमालेसँग एकीकरण घोषणा बाँकी रहेको गठबन्धन दल नेकपा माओवादीको सर्त पनि बनेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री थापाले प्रधानमन्त्री सामु प्रस्ताव राखे, ‘बालकृष्णलाई आममाफीको निर्णय गरौं ।’ प्रधानमन्त्री ओलीले सिधै प्रस्तावलाई नकार्दै जवाफ दिए, ‘स्थितिलाई बिगार्ने प्रस्ताव नगर्नुस् ।’ थापाको प्रस्ताव सोचेर चाँडो निर्णय दिन माओवादी अध्यक्ष दाहालको पनि दबाब ओलीलाई परेको छ । प्रचण्डले बिहीबार पनि प्रधानमन्त्रीसँग एकताका अन्य प्रस्तावमा सहमति जुटाउने सन्दर्भसँग जोड्दै दाहालले भने, ‘बालकृष्णलाई कहिले निकाल्ने ।’
माओवादीले लोकतन्त्र वा गणतन्त्र दिवसका दिन उनलाई छुटाउन सरकारबाट सिफारिस हुनु पर्ने सुझाव दिएको छ । २०६१ सालमा नै जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यानमा दोषी ठहर गरी जन्मकैदको सजायँ सुनाए पनि बालकृष्ण शान्ति सम्झौता र त्यसको प्रक्रियाका आधारमा थुना परेनन् । २०६४ सालको संविधानसभा निर्वाचनमा उनी अत्यधिक मतले विजयी भई तत्कालीन व्यवस्थापिका संसद पनि छिरेका थिए ।
राजधानीबाट





























प्रतिक्रिया