बर्दिया
बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । आयोजनाले काम सुरु गरेको पाँच महिनाको अवधिमा साँढे २८ प्रतिशत काम सम्पन्न गरेको छ । मानवरहित टनेल बोरिङ मेसिन (टीबीएम) द्वारा सुरुङ खन्ने कार्य भइरहेको छ । कात्तिकको तेस्रो साता देखि मानवरहित टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत सुरुङ खन्न थालिएको हो । पाँच महिनाको अवधिमा ३ दशमलव ४ किलो मिटर सुरुङ खनिएको आयोजना निर्देशक शिवकुमार बस्नेतले जानकारी दिए ।
भेरी–बबई डाइभर्सन निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले लिएको छ । सिँचाइ र विद्युत उत्पादनका लागि भेरी नदीको पानी बबई नदीमा खसाल्न भेरी र बबई नदी बीचको चुरे पहाडमा सुरुङ खन्न लागिएको हो । सुर्खेतको हात्तीखालबाट सुरुङ खन्ने काम सुरु गरिएको छ । भेरी नदीको पानी बबईमा खसाल्न चुरे पहाडमा १२ किलोमिटर सुरुङ खनिनेछ । सुरुङ खन्न नेपालमा पहिलोपटक मानवरहित टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको हो ।
यो मेसिन चीनबाट भारत हुँदै नेपाल ल्याइएको हो । टीबीएम मेसिन राख्ने ठाउँ बनाउन आयोजनालाई करिब २ वर्ष लागेको थियो । सुरुङ खन्न सुरु गरेपछि यो मेसिनलाई सुरुङ पूरा नगरी बाहिर निकाल्न मिल्दैन । सिँचाइका साथै यो आयोजनाबाट विद्युत पनि उत्पादन गरिनेछ । यो बहुउद्देश्यीय आयोजनाबाट ४८ मेघावाट विद्युत उत्पादन गर्ने सरकारी योजना रहेको छ । आयोजना सम्पन्न हुँदा बाँके, बर्दियाका जनता सिँचाइ र विद्युत सेवाबाट लाभान्वित हुनेछन् ।
राजधानीबाट































प्रतिक्रिया