ओखलढुंगा
ओखलढुंगामा ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार विरुद्ध जनप्रतिनिधिले कारबाही अभियान सुरु गरेका छन् । निर्वाचित सांसद र स्थानीय तहका जनप्रतिनिधिले काम नगर्ने ठेकेदार विरुद्ध कारबाही थालेका हुन् ।
जनप्रतिनिधि नहुँदा लामो समय देखि जिल्लामा ठेक्का लागेर पनि विकास आयोजनाका कामहरु सम्पन्न हुन सकेका थिएनन् । निर्वाचित भएपछि जनप्रतिनिधिहरु विकास निर्माणका काममा भएको ढिला सुस्ती रोक्न लागि परेका हुन् । सोमबार जनप्रतिनिधिले जिल्लाको मोलुङ खोलाका २ स्थानमा निर्माण सम्पन्न भईसक्नु पर्ने सडक पुलको काम हाल सम्म अघि नबढाउने ठेकेदारलाई जनताका बिचमा उभ्याएर तत्काल काम अघि बढाउने प्रतिवद्धता जनाउन लगाएका छन् ।
सोमबार मोलुङ करिडोर सडकको अनुगमन गर्ने कार्यक्रम थियो । प्रत्यक्ष निर्वाचित सांसदको रोजाईमा बन्ने एउटा सडक आयोजना अन्तर्गत २०७० सालमा निर्वाचित भए पश्चात सांसद यज्ञराज सुनुवारको पहलमा सुरु भएको मोलुङ एकवारको काम मुलखर्कको भुल्के सम्म पुगेको छ । सोहि सडक अनुगमन गर्न प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्मा सहितका सरोकारवालाहरु मुलखर्कको भुल्के पुगेका थिए ।
त्यहाँबाट फर्किएपछि मोलुङ दोभानमा निर्माण हुनुपर्ने सडक पुलको अनुगमन गर्ने कार्य सुचि थियो । मोलुङ दोभान पुग्दा त्यहाँ पुल निर्माणका लागि १ जना ड्राईभर डोजर लगाएर जिप खनिरहेका भेटिए । अर्का एक मजदुर डोजर अघिपछि घुमिरहेका थिए । ०७५ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम भर्खरै सुरु भएको छ ।
सक्नुपर्ने बेला काम सुरु गरेको भन्दै आक्रोशित जनप्रतिनिधिले त्यस नजिकै एक होटलमा ठेकेदार रविन्द्र लामालाई भेट्टाए । ठेकेदार भेटाए लगतै सांसद सुनुवारले आक्रोशित हुँदै कुनै पत्रकारले अन्तरवार्तामा प्रश्न गरे झै ठेक्का लिएको काम समयमा पुरा नहुनुको कारण सोधे । सांसदले एकपछि अर्को प्रश्न गरेपछि ठेकेदार लामा असिन पसिन हुँदै तत्काल काम अघि बढाउन सहमत भए । समयमा काम नगर्ने ठेकेदारलाई जनप्रतिनिधिले जनताका बिचमा उभ्याएर तत्काल काम अघि बढाउने प्रतिवद्धता जनाउन बाध्य पारे ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया